काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल समुदायले राहत सामग्री वितरण गरेको छ। गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले समुदायका सदस्यहरूले आर्थिक सहयोग संकलन गरी राहत सामग्री उपलब्ध गराएका हुन्।
ब्लू स्ट्रीक्सका सदस्यहरूबाट संकलन गरिएको ९३ हजार रुपैयाँबाट चामल, दाल, खानेपानी तथा महिलाका लागि आवश्यक सरसफाइ सामग्रीलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो। सहयोग संकलन प्रक्रियामा पारदर्शिता कायम गर्न नगद तथा विद्युतीय माध्यमबाट प्राप्त सहयोगसहित सहयोगदाताको विवरणसमेत सार्वजनिक गरिएको समुदायले जनाएको छ।
भारी वर्षाका बीचमा पनि ब्लू स्ट्रीक्सका सदस्यहरूले राहत सामग्री तयार गरी एउटा सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा पुर्याएका थिए। मोटरसाइकलको समूहसहित नुवाकोट पुगेका सदस्यहरूले श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थलमा राहत सामग्री वितरण गरेका थिए।
राहत वितरणका क्रममा सदस्यहरूले बाढीपीडित परिवारसँग प्रत्यक्ष भेट गरी आवश्यक सामग्री उपलब्ध गराएका थिए। विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकाको आवश्यकतालाई ध्यानमा राखेर सामग्री वितरण गरिएको थियो। राहतसँगै पीडित परिवारलाई मनोबल बढाउने तथा कठिन परिस्थितिमा साथ रहेको अनुभूति दिलाउने प्रयाससमेत गरिएको समुदायले जनाएको छ।
एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू मोटरसाइकल यात्रामा मात्र नभई सामाजिक कार्यमा समेत एकजुट हुने गरेको बताए।
उनले आवश्यक परेको समयमा प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका कार्य भइरहेका बेला ब्लू स्ट्रीक्सको राहत पहलले समुदायमा सहकार्य र मानवीय सहयोगको महत्वलाई उजागर गरेको छ। संकटका बेला साझा प्रयासमार्फत प्रभावित परिवारसम्म सहयोग पुर्याउन सकिने उदाहरणका रूपमा यस अभियानलाई लिइएको छ।