• Menu

रसुवा बाढीपीडितको राहतका लागि राजर्षिजनक विश्वविद्यालयका शिक्षक र कर्मचारीको तलब कट्टा गरिने

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १७:४०

रसुवा बाढीपीडितको राहतका लागि राजर्षिजनक विश्वविद्यालयका शिक्षक र कर्मचारीको तलब कट्टा गरिने

धनुषा । राजर्षिजनक विश्वविद्यालयले रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।

विश्वविद्यालयका अनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ। त्यस्तै, डिन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकलगायत सोसरहका शिक्षक तथा कर्मचारीको मासिक सुरु तलब स्केलबाट १५ दिन बराबरको रकम कट्टा गरिनेछ ।

सहायक डिन, सहनियन्त्रक, उपप्राध्यापक, उपप्रशासक तथा सोसरहका कर्मचारीबाट १० दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको छ। सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सोसरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।

त्यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक तथा सोसरहका कर्मचारीबाट पाँच दिन र सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ ।

विश्वविद्यालयको रजिस्ट्रार कार्यालयका अनुसार उक्त रकम २०८३ साल साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिनेछ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा जारी सूचनामा विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारी तथा पदाधिकारीको तलबबाट रकम कट्टा गर्न लागिएको उल्लेख छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले विपद्प्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ ।