• Menu

पहिरोले रुकुम पश्चिममा पाँच परिवार विस्थापित, चार घर जोखिममा

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १७:१०

पहिरोले रुकुम पश्चिममा पाँच परिवार विस्थापित, चार घर जोखिममा

रुकुम पश्चिम । अविरल वर्षासँगै आएको पहिरोका कारण रुकुम पश्चिमका विभिन्न स्थानमा पाँच परिवार विस्थापित भएका छन् भने चार घर जोखिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ १६ गते राति परेको वर्षाका कारण त्रिवेणी गाउँपालिका-७ पुर्नपानीमा पहिरो जाँदा चार घर जोखिममा परेका छन्। पहिरोले करिब १३ रोपनी खेतसमेत बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार स्थानीय पलबहादुर पुनको घर पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले पुनको करिब पाँच रोपनी खेत बगाएको छ । उनको आठ सदस्यीय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, स्थानीय अम्मर विकको घरसमेत पहिरोको जोखिममा परेको छ। उनको करिब तीन रोपनी खेत बगाएको प्रहरीले जनाएको छ । विकको परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय तुलाराम नेपालीको घर पनि पहिरोको जोखिममा परेको छ भने उनको करिब तीन रोपनी खेत बगेको छ। उनलाई आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक परियारले जानकारी दिए ।

पहिरोका कारण स्थानीय खुमबहादुर विकको घरसमेत जोखिममा परेको छ । उनको करिब दुई रोपनी खेत पहिरोले बगाएको छ ।

प्रहरीका अनुसार प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।