मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडालाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित हिमालयन राइडर्स सोसाइटीले आफ्नो अभियानलाई तीव्रता दिएको छ।
२०७८ सालमा संस्थागत रूपमा स्थापना भएको सोसाइटीले आफ्नै पहल तथा सरोकारवाला निकायसँगको सहकार्यमा हेटौंडाको बुद्धचोकबाट चारैतर्फ करिब एक-एक किलोमिटर दूरीमा साइकल लेन निर्माण गरिसकेको जनाएको छ।
सोसाइटीका अध्यक्ष राजु थापा मगरका अनुसार बुद्धचोकबाट कान्ति लोकपथ, कर्रा जाने मार्ग, चौकीटोल जाने मार्ग र राप्ती रोडतर्फ साइकल लेन निर्माण भइसकेको छ।
हेटौंडालाई ‘साइकल सहर’ का रूपमा विकास गर्ने लक्ष्यसहित अभियानकै रूपमा काम गरिरहेको अध्यक्ष मगरले बताए। उनका अनुसार अब निर्माण हुने सडकहरूमा साइकल लेनलाई अनिवार्य रूपमा समेट्न सम्बन्धित निकायसँग पहल भइरहेको छ।
‘साइकल लेन सहरको सौन्दर्यसँगै साइकल यात्राको आकर्षण बढाउन पनि आवश्यक छ,’ अध्यक्ष मगरले भने, ‘यहाँ बन्ने सडक साइकल लेनसहितका हुनुपर्छ भन्ने विषयमा हामी सम्बन्धित निकायसँग निरन्तर पहल गरिरहेका छौँ।’
स्वास्थ्य, पर्यटन र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै हेटौंडासहित देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्धनमा समेत सोसाइटी सक्रिय रहेको छ। संस्थामा हाल १० वर्षदेखि ७३ वर्षसम्मका साइकलप्रेमी गरी १६० जनाभन्दा बढी साधारण तथा आजीवन सदस्य आबद्ध छन्।
वातावरण संरक्षणका लागि सोसाइटीले हेटौंडा तथा आसपासका विभिन्न क्षेत्रमा वृक्षरोपण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत सोसाइटीले समय-समयमा रक्तदान, आँखादान तथा निःशुल्क स्वास्थ्य परीक्षणलगायत कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष मगरले जानकारी दिए।
स्वास्थ्यलाई प्रवर्धन गर्ने, वातावरण संरक्षणमा योगदान पुर्याउने तथा पर्यटनको विकासमा सहयोग गर्ने उद्देश्यले साइकल संस्कृतिको विस्तारमा आफूहरूको अभियान केन्द्रित रहेको सोसाइटीले जनाएको छ ।