• Menu

स्वदेशी तथा विदेशी जुनसुकै स्रोत पनि परिचालन गर्छौँ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १५:५३

स्वदेशी तथा विदेशी जुनसुकै स्रोत पनि परिचालन गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको स्पष्ट पारे ।

‘सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो,’ प्रधानमन्त्रीसँगको भेटपछि पूर्वऊर्जामन्त्री घिसिङले सञ्चारकर्मीसँग भने, ‘फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएका छौँ ।’

भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचाल गर्ने उनले जानकारी दिए । ‘प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनुभएको छ,’ घिसिङले भने ।

अध्यक्ष घिसिङले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्र बनाउन सडक सञ्जाल तत्काल पुनर्स्थापित गर्नुपर्ने सुझाव दिए । ‘स्याफ्रुबेँसीसम्म सडक सञ्जाल पुर्‍याउने र बेलिब्रिज राख्ने भन्ने बारेमा व्यापक छलफल भयो,’ उनले भने ।