काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीका अवसरमा आयोजित १८औँ संस्करणको प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा तथा नेपाली अटोमोबाइल बजारमा देखिएका नयाँ सम्भावना एकै ठाउँमा प्रस्तुत गरिएका थिए ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टल राखिएका थिए । ती स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, बैंक तथा वित्तीय सेवा र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवा प्रदर्शन गरिएको थियो ।
नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तीय संस्था र बीमा सेवा प्रदायकको सहभागिता थियो ।
नयाँ मोडल र ईभी बने मुख्य आकर्षण
अटो शोमा नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन मुख्य आकर्षण बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरेका थिए ।
विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, विद्युतीय मोटरसाइकल तथा स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने ।
बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल प्रदर्शनीका प्रमुख आकर्षण बनेका थिए ।
सवारीसाधनको प्रदर्शन तथा बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा समेत प्रतिस्पर्धा देखिएको थियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्कमा छुट तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न योजना सार्वजनिक गरेका थिए ।
केही बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा सुविधा तथा कम ब्याजदरका योजना समेत अघि सारेका थिए ।
बाढीपहिरोको पीडाबीच सम्पन्न भयो अटो शो
यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना भएको थियो । प्रदर्शनी सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायत नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो ।
यस्तो कठिन परिस्थितिमा पनि अटो शो निरन्तरता पाउनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम तथा सर्वसाधारणको सहयोग र विश्वासको परिणाम भएको नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवभन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैँ एउटै ठाउँमा रोकिएर बस्न नसक्ने बताए ।
‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’ अध्यक्ष उप्रेतीले भने, ‘यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौँ । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।’
उनले अटो शो सवारीसाधन बिक्री गर्ने थलोमा मात्र सीमित नरहेको बताउनुभयो । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने तथा उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यमका रूपमा अटो शो विकास भइरहेको उनको भनाइ थियो ।
नाडाले यस वर्षको प्रदर्शनीमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो ।
यी हुन् नाडा अटो शो २०२६ का पाँच उत्कृष्ट स्टल
नाडा अटो शो २०२६ मा पाँच फरक विधामा उत्कृष्ट स्टल छनोट गरिएको छ ।
- चारपांग्रे प्यासेन्जर कारतर्फ: साइमेक्स इंक प्रालिको बीवाईडी (BYD)
- दुईपांग्रे सवारीसाधनतर्फ: एमएडब्लु राइड्स प्रालिको यामाहा (YAMAHA)
- कमर्सियल चारपांग्रेतर्फ: एनईभी नेपाल प्रालिले बिक्री गर्दै आएको दिगो (DIGO)
- अटो कम्पोनेन्टतर्फ: सिप्रदी अटोपार्ट्स प्रालिको मिशेलिन टायर (MICHELIN)
- बैंक तथा वित्तीय संस्थातर्फ: माछापुच्छ्रे बैंक
उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले विभिन्न मापदण्डका आधारमा स्टलको मूल्यांकन गरी पाँच विधाका उत्कृष्ट स्टल छनोट गरेको नाडाले जनाएको छ ।