• Menu

नेपाल लाइफको जीवन बिमा कोष २८५ अर्ब पुग्यो, ‘एभरेस्ट इयर’ अभियान घोषणा

नेपाल प्रफिट

२०८३ भदौ १४, आइतबार १५:२१

नेपाल लाइफको जीवन बिमा कोष २८५ अर्ब पुग्यो, ‘एभरेस्ट इयर’ अभियान घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ कार्यक्रम सम्पन्न गरेको छ ।

‘एभरेस्ट इयर-क्लाउड्स एन्ड बियोन्ड’ मूल नाराका साथ भदौ ३ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए  ।

कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बिमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले  १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क संकलन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

उनले उक्त उपलब्धि अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकको विश्वास र मेहनतको परिणाम भएको बताउँदै आर्थिक वर्ष २०८३/८४ लाई ‘एभरेस्ट इयर-क्लाउड्स एन्ड बियोन्ड’ अभियानका रूपमा अघि बढाइएको जानकारी दिए ।

सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई आग्रह गरे । उनले कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता भएको उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले आर्थिक वर्ष २०८२/८३ कम्पनीका लागि ऐतिहासिक वर्ष रहेको बताए । उनले आगामी दिनमा प्रविधिको अधिकतम उपयोग, ग्राहककेन्द्रित विद्युतीय सेवा, तथ्यमा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रियाको स्वचालनलाई प्राथमिकतामा राखेर कम्पनीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी प्रस्तुति, रणनीतिक छलफल, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सहभागीले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप उत्साह र प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल लाइफले २५ वर्षको यात्रामा उल्लेखनीय वित्तीय तथा व्यावसायिक उपलब्धि हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार हाल जीवन बीमा कोष २८५ अर्ब पुगेको छ भने मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम छ । कम्पनीले हालसम्म ५५ लाख ७९ हजारभन्दा बढी बिमा पोलिसी जारी गरेको तथा कुल बीमा शुल्क संकलन ३६२ अर्ब पुगेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले नेपाल सरकारलाई हालसम्म १७ अर्ब ७१ करोड कर तिरेको जनाएको छ । कम्पनीले यी उपलब्धिले नेपाल लाइफप्रति ग्राहकको विश्वास, वित्तीय सबलता तथा नेपाली जीवन बिमा क्षेत्रमा आफ्नो नेतृत्वलाई पुष्टि गरेको दाबी गरेको छ ।

‘एभरेस्ट इयर-क्लाउड्स एन्ड बियोन्ड’ अभियानमार्फत विगतका उपलब्धिलाई आगामी यात्राको आधार बनाउँदै ग्राहकको विश्वास, प्रविधि, नवप्रवर्तन, उत्कृष्ट सेवा तथा व्यावसायिक सुशासनलाई केन्द्रमा राखेर थप उपलब्धि हासिल गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।