• Menu

भोटेकोशीमा फेरि बाढी आएको आशंका, सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई अपिल

नेपाल प्रफिट

२०८३ भदौ १४, आइतबार ०५:३१

भोटेकोशीमा फेरि बाढी आएको आशंका, सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई अपिल
भदौ ११ को बाढीपछिको देवीघाट । फाइल तस्बिर ।

काठमाडौं । भोटेकोशी नदीमा फेरि ठुलो बाढीको आवाज आएको छ । रसुवाको सदरमुकाम धुन्चेसम्म ठुलो आवाजमा बाढी आएको सुनिएपछि स्थानीयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपिल गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत बेत्रावती, सोले, तुप्चे, त्रिशुली, विदुर, बट्टार, देवीघाट,  गजुरीलगायत क्षेत्रका बासिन्दालाई सतर्क रहन अपिल गरेका छन् । धुन्चेका पत्रकार बलराम घिमिरेले भोटेकोशी नदीमा धेरै ठुलो बाढी आएकाले सतर्क रहन आग्रह गरेका छन् ।

उनले आइतबार बिहान ४ बजे नै फेसबुकमा लेखेका छन्, ‘रसुवा जिल्लाको माथिबाट फेरि भोटेकोशी नदी धेरै ठुलो आएको छ । तल्लो तटीय क्षेत्रमा हुनेहरू सुरक्षित रहनु होला । सदरमुकाम धुन्चेमा खोलाको आवाज धेरै ठुलो सुनिएको छ । टाढा भाग्नु होला ।’

त्यस्तै, अर्का धुन्चेबासी गणेश देवकोटाले पनि तिब्बत तर्फबाट फेरि बाढी आएको बताएका छन् । ‘तिब्बत तर्फबाट फेरि बाढी आएका कारण भोटेकोशी, त्रिशूली तथा नारायणी नदी किनार छेउछाउमा बसोबास गर्नुभएकाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।