काठमाडौं । नुवाकोटको सोले र तुप्चेबाट बेपत्ता भएकाहरुका आफन्तले उद्धार, राहत र खोजी कार्यमा थप सक्रिय भएर लाग्न सरकारसँग आग्रह गरेका छन् । त्रिशूली नदीको रसुवातर्फ पर्ने बेत्रावतीतर्फ सरकारी सुरक्षा टोली ठुलो संख्यामा खटिए पनि नुवाकोटतर्फ सोले र तुप्चे बेवास्तामा परेको गुनासो उनीहरुले गरेका हुन् ।
भदौ १० गते बिहान आएको बाढीले बेत्रावती, सोले, छिपटार, तुप्चे, त्रिशूलीलगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । सरकारी टोलीले तिनै क्षेत्रलाई केन्द्रमा राखेर बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणको काम गरिरहेको बताएको छ । तर, सोले र तुप्चेतर्फ बेपत्ताको खोजी कार्य र राहत वितरणका लागि सुरक्षाकर्मी नपुगेको गुनासो पीडितहरुले गरेका हुन् ।
सोले र तुप्चे क्षेत्रका कतिपयले परिवारका सबै सदस्य पनि बाढीमा गुमाएका छन् । तर, आज चार दिन बितिसक्दा कसैको अत्तोपत्तो छैन । बाढीको समयमा भागेर बाँच्न सफल भएकाहरुका लागि राहत वितरणमा पनि सरकारी टोली चुकिरहेको पाइएको छ ।
बाढीमा परी बुवा बेपत्ता भएपछि खोजीका लागि हारगुहार गरिरहेकी तुप्चेकी आकृति भण्डारीले त्रिशूलीदेखि सोले, अक्करे, तुप्चे र हेडगेड हाइड्रोपावरसम्मको क्षेत्रमा सरकारी टोलीको किन ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छन् ।
त्यस्तै तुप्चेकै कृश्चल खतिवडाले पनि शनिबार अपराह्न सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै मान्छे गाडीका गाडी लिएर जान्छन्, पत्रकार जान्छन् तर विदुरसम्म मात्र । मेरो गाउँ, मेरो जन्मभूमि तुप्चेमा आज एउटा सोलार पुगेन, एक बोरा राहत पुगेन, एक जना मान्छे पुगेन । न त्यहाँबाट हामी यस्तो छौँ भनेर खबर गर्न सक्ने अवस्था छ । कमसेकम यतातिरबाट बुझेर मान्छे त जानुपर्छ । कृपया कोही मेरो गाउँसम्म पुगिदिनु न । न बत्ती छ, न सञ्चार छ, कोहीको पनि अत्तोपत्तो छैन ।’
बबिता पौड्याल र सुनिता अधिकारीले पनि तुप्चे धेरै प्रभावित क्षेत्र भएको तर त्यहाँ किन सरकारको आँखा पुगेको छैन ? भन्दै प्रश्न गरेका छन् ।
तुप्चेकै रामचन्द्र नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नुवाकोटको सोले बजार र तुप्चेमा बाढीका कारण आफन्तहरू हराएको आज तीन दिन बित्न लागिसक्यो । परिवारजनको आँखामा आँसु र मनमा एउटै प्रश्न छ- हाम्रा मान्छे कहाँ छन् ? सोले बजार र तुप्चेमा अहिलेसम्म खोजी, उद्धार तथा राहतका कुनै प्रभावकारी कार्य सुरु नभएको गुनासो पीडित परिवार र स्थानीयबाट आइरहेको छ । यस्तो विपद्को घडीमा पीडितहरूलाई झन् ठूलो पीडा र असहायपन महसुस भइरहेको छ । पीडित परिवार आफ्ना-आफन्तको अवस्थाबारे जान्न व्याकुल छन् । सम्बन्धित जनप्रतिनिधिहरूको फोनसमेत सम्पर्कमा नआएको गुनासोले परिवारको पीडा झन् बढाएको छ । कृपया यस संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल पहल गरिदिनुहोस् । बेपत्ता सबैको सकुशल खोजी होस् ।’
तुप्चे र सोलेका बासिन्दाले सामाजिक सञ्जालमा सरकार र जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइरहँदा स्थानीय जनप्रतिनिधिले पनि विपदपछिको उद्धार र राहतमा कठिनाइ भएको गुनासो गरेका छन् । विदुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रविन्द्र नेपालले संघीय सरकारबाट कहीँकतै कमजोरी भएको बताए ।
‘म पनि आफैँ घरबारविहीन भएको छु, संयोगवश परिवारका सबै सकुशल छौँ,’ उनले भने, ‘बाढी आउँदा म बाहिर थिएँ, घर जान पनि धेरै हारगुहार गर्नुपर्यो, पीडितमात्र नभएर म यहीँको जनप्रतिनिधि हुँ, सबै देखिरहेको छु, कमी कमजोरी भएको छ ।’
अध्यक्ष नेपालका अनुसार सोले बजार, छिपटार र अक्करे क्षेत्रबाट मात्र ९६ जना बेपत्ता भएको उनले बताए । ‘यो क्षेत्रमा पाँच जनाको शव भेटिएको छ, एक जनाको पहिचान भएको छ,’ उनले भने, ‘बाँकीको सनाखत हुन सकेको छैन । बेपत्ता भएका अरु कसैको टुंगोपत्तो छैन ।’
नुवाकोट २ का प्रतिनिधिसभा सदस्य अच्युतम लामिछानेले बाढीमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार र राहत कार्यमा आफूले सहजीकरण गरिरहेको बताएका छन् । ‘क्षति ठुलो भएकाले चुनौती पनि धेरै छ, सरकारले गम्भीरता साथ काम गरिरहेको छ, सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्,’ उनले भने ।
चण्डेश्वरी माविका विद्यार्थी चार दिनदेखि अलपत्र
यसैबीच, तुप्चेमा रहेको चण्डेश्वरी माविका विद्यार्थी चार दिनदेखि अलपत्र परेका छन् । वडा नम्बर ७ का अध्यक्ष नेपालका अनुसार चण्डेश्वरीमा अलपत्र परेका १२-१५ जना विद्यार्थीको आज बिहान उद्धार गरिएको बताए । ‘१८-२० जना विद्यार्थी, चार-पाँच जना मजदुर र विद्यार्थीका आफन्तसहित अझै ३५-३६ जना उद्धारको पर्खाइमा छन् ।’
नेपालका अनुसार तुप्चे र सोले बजार क्षेत्रका बाढीपीडितहरु आफन्तकहाँ आश्रय लिएका बसेका छन् । ‘तर विद्यार्थी र मजदुरहरु भने धेरै समस्यामा छन्,’ उनले भने, ‘त्यहाँको भयावह दृश्यले बच्चाहरुको दिमागमा गम्भीर असर देखिन थालेको छ, उनीहरुलाई तत्काल उद्धार गर्न जरुरी छ ।’
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेसम्ममा नुवाकोटमा मात्र ५१ जनाको मृत्यु भइसकेको छ भने ४०५ जना बेपत्ता छन् । बाढीले करिब ८ सय निजी घर, आठवटा सरकारी कार्यालय, तीन जलविद्युत् गृह, चार विद्यालय, १५ पक्की पुल र नौवटा झोलुंगे पुलमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।