• Menu

प्रधानमन्त्री बालेन शाहले संसद्‌मा कालो चस्मा लगाउने, सचिवालयमा बुझाइयो स्वास्थ्य रिपोर्ट

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १२:५४

प्रधानमन्त्री बालेन शाहले संसद्‌मा कालो चस्मा लगाउने, सचिवालयमा बुझाइयो स्वास्थ्य रिपोर्ट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ। छाउनी अस्पतालमा गरिएको आँखाको परीक्षणपछि चिकित्सकीय सुझावसहितको स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा पुगेको हो।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा कालो चस्मा लगाउने विषयमा चासो राख्दै प्रमुख सचेतक तथा सचेतकमातर्फबाट सांसदहरूलाई जानकारी गराएका थिए। स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने भए त्यसको आधारमा स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने सभामुखले बताएका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले आँखाको परीक्षण गराएका थिए। प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखाको परीक्षण गराएका थिए। परीक्षणका क्रममा खाली आँखाले तेज उज्यालोमा हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले कालो चस्मा प्रयोग गर्न सुझाव दिएका थिए।

अस्पतालले गरेको स्वास्थ्य परीक्षणको रिपोर्टसहितको पत्र २६ साउनमा संघीय संसद् सचिवालयमा पठाइएको हो। सो पत्र संसद् सचिवालयमा दर्ता भएपछि प्रधानमन्त्री शाहलाई स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने विषय स्पष्ट भएको हो।

प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभाको बैठकमा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रत्यक्ष प्रश्न गर्ने भएका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा प्रधानमन्त्री शाहले सांसदहरूले सोध्ने प्रश्नको प्रत्यक्ष जवाफ दिनेछन्।

नियमावलीको दफा ५७ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। यसले संसद् बैठकमा हुने प्रश्नोत्तर कार्यक्रमलाई सर्वसाधारणले प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था गरेको छ।

त्यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि आफूले सोध्न चाहेको प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्ने हुन्छ।

सोहीअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न इच्छुक सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए। निर्धारित समयभित्र ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न नाम दर्ता गराएका छन्।

प्रधानमन्त्री शाह संसद् भवनमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्ने तयारीमा रहेका बेला स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो। अब स्वास्थ्यसम्बन्धी कारण देखाउँदै प्रधानमन्त्री शाहले संसद् बैठकमा कालो चस्मा प्रयोग गर्न पाउने भएका छन्।