
चितवन । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै राजस्वसमेत बढेको छ ।
लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरुलाई एक पटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिने छ । उनले भने, ‘यसलाई अवसरका रुपमा लिएर कर छुटको सुविधा उपभोग गर्नुहोस् ।’ यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन आग्रह गरे ।
उनका अनुसार २०८२ साल भदौ २ सम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न, पत्थरमा दिएको विलासिता शुल्क र मूल्य अभिवृद्धि करमा एउटा फर्मले छुट लिएको छ । संस्था दर्ता ऐन २०३४ लाई आयकर छुटअन्तर्गत दुई वटा फर्मले सुविधा लिएका छन् ।
आयकरतर्फ प्यान नं नलिई कारोकार गर्ने सात वटा फर्मले छुट सुविधा लिएका हुन् । आयकरतर्फ प्यान नं लिई हालसम्म कारोवार नगर्ने २६६ फर्मले यो सुविधा लिएका छन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आयकरतर्फ व्याज जरिवाना छुटको सुविधा कार्यालयमार्फत तीन सय २६ फर्म र अनलाइन सिस्टमबाट एक हजार ९६४ फर्मले सुविधा लिएको उनले जानकारी दिए ।
मूल्य अभिवृद्धि करतर्फ कर संकलन नगरेको र विवरण पनि दाखिला नगरेका ४४, कर संकलन गरेको तर विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन् । यस्तै अन्तशुल्कतर्फ कारोबारको असुलउपर र विवरणमा छ वटा र इजाजत नविकरण नगरेका २१६ फर्मले सुविधा लिएको खड्काले जानकारी दिए ।
आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्तर्फ विवरण पेस गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ वटा र विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई वटा फर्मले छुट सुविधा लिएका छन् ।
जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन् । तीमध्ये मूल्य अभिवृद्धि करमा ११ हजार ३४५ र अन्तशुल्कमा चार हजार ९६१ दर्ता भएका छन् । हालसम्मको तथ्यांक अनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या अनुसार ५५ प्रतिशत रहेका छन् ।
आयकरतर्फ आर्थिक वर्ष २०८१/०८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी देखिन्छ । आयकरतर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा लिने करदाता २०८३ साल जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार पाँच सय ६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उनको भनाइ छ ।
मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई कर रकम समेत दाखिला गरेको देखिएको छ । अन्तशुल्कतर्फ जम्मा २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ ९१० र ९२० अनुसार अन्तशुल्क दस्तुर बुझेर विवरणसमेत दाखिला गरिसकेका छन् ।
गत आव २०८२/०८३ को साउनमा एक अर्ब ५३ करोड ३९ लाख १० हजार राजस्व संकलन भएकोमा यस वर्षको साउनमा एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार राजस्व संकलन भएको उनले बताए । अघिल्लो आवको यसै अवधिमा भन्दा चालु आवको यस अवधिमा २८ करोड राजस्व बढी संकलन भएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal