• Menu

राप्ती आँखा अस्पतालद्वारा एक वर्षमा १४ हजारभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:४९

राप्ती आँखा अस्पतालद्वारा एक वर्षमा १४ हजारभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया

दाङ । तुलसीपुर उपमहानगरपालिका-११ का ४८ वर्षीया शारदा चौधरीले १३ वर्षअघि गुमाएको दुवै आँखाको दृष्टि गत पुसमा पुनःप्राप्त गरिन् ।

चेतनाको कमी र आर्थिक अभावका कारण समयमै अस्पताल जान नसक्दा उनले यसबीचमा निकै कष्ट भोग्नुपरेको थियो । पुनःदृष्टि प्राप्त भएसँगै जीवनमा अर्को नयाँ अनुभूति भएको उनको प्रतिक्रिया छ । चौधरीले भनिन्, ‘आँखा देख्न नसक्दा धेरै पिँडा भोगेको थिएँ, तर अहिले धेरै खुसी छु ।’ यद्यपि चौधरीलाई घर परिवारले भने उचित हेरचाह गरेकी थिइन् ।

आँखाको उपचार गरी ज्योति दिलाउने चिकित्सक भगवान रुपी मानवको सङ्ज्ञा दिँदै उहाँले भक्कानिँदै हृदयदेखि धन्यवाद ज्ञापन गरिन् । आँखाको ज्योति गुमाउन साथ अस्पताल जानुपर्नेमा पीडित चौधरी परिवारको सल्लाहअनुसार गाउँमै झारफुकमा समय बेतित गरे । उनले भनिन्, ‘अस्पतालमा लगेको भए सुरुमै रोग पत्ता लाग्ने रहेछ, यतिका वर्ष घरमै दुःख कष्टमा बिताउनुभयो ।’ गत वर्ष गाउँका अगुवा बुद्धिजीवीले पति कर्णबहादुर चौधरीलाई राप्ती आँखा अस्पताल रक्षाचौर लगेर आँखाको उपचार गर्न सुझाव दिएका थिए ।

गाउँका अगुवाले त्यसका लागि पैसा चाहिएमा सहयोग उठाउनेसमेत आश्वासन दिएपछि चौधरीको उपचार प्रक्रिया अघि बढेको थियो । त्यस क्रममा विशेषज्ञले गरेको नेत्र परीक्षणमा दुवै आँखामा छिप्पिएको मोतिबिन्दु पहिचान भएको पाइएको थियो । घरको कमजोर आर्थिक थाहा पाएपछि अस्पताले एनएविपी नर्वेको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको थियो ।

त्यस्तै जन्मजात बोल्न नसक्ने सोही उपमहानगरपालिका-७ का ६४ वर्षीय ठगी दमाईले पनि १० वर्ष पहिले गुमाएको आँखाको दृष्टि अहिले प्राप्त गरेका छन् । सानै उमेरमा अभिभावक गुमाएपछि अप्ठ्यारो परिस्थितिमा रहेका उनी प्युठानमा दिदीको घरमा बस्दै आएका थिए । उनलाई आँखा परीक्षणका लागि छिमेकीले अस्पतालमा जान सल्लाह दिएपछि गत माघ ७ गते राप्ती आँखाका अस्पताल गए । त्यहाँ उनको आँखामा मोतियाविन्दुको समस्या देखिएको छ । चिकित्सकले भोलि पल्टनै आँखाका शल्यक्रिया गरी पुनःदुवै आँखा देख्न सक्ने भए ।

दमाइको घरायसी आर्थिक अवस्था कमजोर देखेपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको थियो । चौधरी र दमाइका साथै उक्त अस्पतालले हालसम्म १४ हजारभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरिसकेको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत राप्ती आँखा अस्पतालअन्तर्गत सञ्चालित अस्पतालले वार्षिक रुपमा तीन लाखभन्दा बढी सेवाग्राहीको आँखा परीक्षण गरिसकेको छ । उक्त अस्पतालले गएको आर्थिक वर्षमा १४ हजार ४७७ जनाको मोतिविन्दु र तीन हजार ६५५ जनाको अन्य शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

उनका अनुसार, निःशुल्क आँखा शिविर, आँखा जाँच कार्यक्रममार्फत ९७ हजार ६६९ जनालाई निःशुल्क परीक्षण र चार हजार ९१८ जनाको अस्पतालले निःशुल्क मोतिविन्दुको शल्यक्रिया प्रदान गरेको छ । अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पताल र विभिन्न उपचार केन्द्रमार्फत दुई लाख ४० हजार २५९ जनाको आँखा तथा १४ हजार ४७७ जनाको कानको उपचार सेवा दिइएको छ । त्यस्तै ७५ हजार ९५५ जनाको चस्मा जाँच गरेकामा ३९ हजार ५८६ जनालाई चस्मा लगाउन अस्पतालले सिफारिस गरेको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती अस्पतालसँगै बहादुरगन्ज, कपिलवस्तु, सल्यान, रुकुम पूर्व, कोइलावास, घोराही, रुकुम-पश्चिम र रोल्पाको सुलिचौर सर्जिकल सेन्टरमा सञ्चालनमा छ ।