• Menu

आरुघाट अस्पतालको स्तरोन्नतिका लागि गोरखा र धादिङका ६ पालिका बीच सहमति

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:२४

आरुघाट अस्पतालको स्तरोन्नतिका लागि गोरखा र धादिङका ६ पालिका बीच सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ ।

ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिए ।

अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गङ्गाजमुना तथा गोरखाको भिमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबीच छलफल भएको संयोजक थापाले जानकारी दिए । छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा विस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ ।

आरुघाट अस्पतालमा ती सेवा विस्तार गर्न सबै गाउँपालिकाहरुले सहयोग तथा समन्वय गर्ने निर्णय भएको पालिकाको छ । ‘आरुघाट बजारबीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्,’ थापाले भने, ‘आरुघाट आधारभूत अस्पतालको सेवा विस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ । यसले ६ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।’

त्यस अवसरमा अस्पतालको सामाजिक सेवा इकाइमार्फत अति विपन्न, असहाय, कारागारका बिरामीहरु, बेवारिसे बिरामी र बृद्धबृद्धा लाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सामाजिक सेवा इकाई स्थापनाका लागि छ वटै गाउँपालिकाहरुले सहकार्य, समन्वय गर्ने निर्णय भएको उल्लेख छ ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफलमा ती पालिकाका प्रमुख एवं प्रतिनिधि तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्यका अधिकारीको सहभागिता थियो ।