
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन ईमास ५ का लागि नयाँ टेलिभिजन विज्ञापन सार्वजनिक गरेको छ।
‘रिडिफाइन योर एभ्रिडे’ अवधारणामा तयार गरिएको उक्त विज्ञापनले काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथामार्फत दैनिक जीवनका विविध पक्षलाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
विज्ञापनमा आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेको युवा उद्यमीदेखि सिर्जनशील क्षेत्रको खोजीमा रहेको कलाकार, निश्चित योजनाबिनै यात्रामा निस्किएका साथीहरू तथा परिवारसँग समय बिताइरहेको व्यक्तिसम्मका कथालाई समेटिएको छ। यी कथामार्फत आधुनिक सहरी जीवनका विविध अनुभव र भावनालाई प्रस्तुत गरिएको छ।
कम्पनीका अनुसार विज्ञापनको मुख्य उद्देश्य प्रोटोन ईमास ५ लाई केवल विद्युतीय प्रविधिमा आधारित सवारीका रूपमा प्रस्तुत गर्नु नभई दैनिक जीवनलाई थप सहज, सुन्दर र अर्थपूर्ण बनाउन सक्ने साधनका रूपमा स्थापित गर्नु हो ।
प्रोटोन ईमास ५ मा फराकिलो भित्री भाग, आरामदायी आन्तरिक सजावट तथा बहुउपयोगी संरचनासहित दैनिक यात्राका आवश्यकतालाई ध्यानमा राखिएका विभिन्न सुविधा रहेको कम्पनीले जनाएको छ। सवारीमा विद्युतीय सञ्चालनसँगै आधुनिक सुरक्षा तथा चालककेन्द्रित प्रविधि उपलब्ध रहेको बताइएको छ ।
प्रोटोन ईमास ५ ले हालै सम्पन्न नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट उच्च चासो तथा बुकिङ प्राप्त गरेको कम्पनीको दाबी छ । प्राइम र प्रिमियम गरी दुई संस्करणमा उपलब्ध यो सवारीमा पछाडिको पाङ्ग्रा चालित प्रणाली, जी-टर्न नियन्त्रण, सामान राख्न मिल्ने ३२ वटा स्मार्ट भण्डारण कक्ष, ७० लिटर क्षमताको अगाडिको भण्डारण भाग, १४.६ इन्चको ठूलो प्रदर्शन पटल तथा विद्युतीय पछाडिको ढोका खोल्ने-बन्द गर्ने सुविधा रहेको जनाइएको छ।
कम्पनीले मुख्य टेलिभिजन विज्ञापन सार्वजनिक भएसँगै आगामी दिनमा विज्ञापनमा प्रस्तुत गरिएका चार कथामा आधारित छुट्टाछुट्टै छोटा चलचित्रसमेत प्रोटोन नेपालका डिजिटल माध्यममार्फत क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीका अनुसार यी कथामार्फत दैनिक जीवनलाई नयाँ ढंगले हेर्ने, अनुभव गर्ने र अझ सहज बनाउने प्रोटोन ईमास ५ को अवधारणालाई उपभोक्तासम्म पुर्याउने लक्ष्य राखिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal