• Menu

५० वर्षमा धेरै सहुलियत ऋण पायौँ, तर खर्च गर्न सकेनौँ : अर्थमन्त्री

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १६:३३

५० वर्षमा धेरै सहुलियत ऋण पायौँ, तर खर्च गर्न सकेनौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठक उनले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाए ।

अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण दुई खर्ब ४७ अर्ब र अनुदान ६२ अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति १० देखि १५ अर्बमा सीमित रहेको बताए ।

विश्व बैंक र एसियाली विकास बैंकबाट मुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति सृजना भएको अर्थमन्त्रीले बताए ।

बितेका ५० वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरेको तर खर्च क्षमता नहुँदा, खरिद प्रक्रिया र प्रशासनिक ढिलासुस्तीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए ।

बैठकमा महालेखापरीक्षक तोयम रायले वैदेशिक सहायतामा सञ्चालन हुने परियोजनाको रकम समयमै खर्च हुने वातावरण बनाउनुपर्ने बताए ।

महालेखा नियन्त्रक कार्यालयका सहसचिव विष्णु ज्ञवालीले वैदेशिक सहायतामा सञ्चालन हुने १४ अर्ब ९२ करोड लागतका १५२ आयोजना अलपत्र भएका जानकारी दिए ।