
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ।
युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताएकी छन्। अबु धाबीले पछिल्ला केही सातामा इरानले समुद्रमा आफ्ना तेल ट्यांकरलाई पटक-पटक निशाना बनाएको आरोप लगाउँदै आएको छ।
दुई देशबीच लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्ध रहे पनि युएईको पछिल्लो निर्णय तनाव बढिरहेका बेला आएको हो। युएईमा ठूलो इरानी समुदायको बसोबास छ भने अमेरिकी प्रतिबन्धका बाबजुद इरानका लागि युएई प्रमुख व्यापारिक साझेदारमध्ये एक रहँदै आएको थियो। समुद्री व्यापार, पारिवारिक सम्बन्ध र व्यापारिक मार्गका कारण दुई देशबीच ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धसमेत रहेको छ।
मङ्गलबारको घोषणा इरानविरुद्ध युएईले चालेको पछिल्लो कदम हो। द्वन्द्व सुरु भएपछि युएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय, सामुदायिक केन्द्र तथा अस्पताल बन्द गरेको थियो।
यसैबीच, युएईले मंगलबार इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको आरोप लगाएको छ। युएईका अनुसार तीमध्ये एउटा क्षेप्यास्त्र आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर र अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको थियो। पछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको छ।
तर इरानले युएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले युएईको आरोप स्पष्ट रूपमा अस्वीकार गर्दै यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताएका छन्।
युएईको पहिलो आधिकारिक घोषणाभन्दा करिब दुई घण्टा अघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत सम्भावित क्षेप्यास्त्र खतराबारे चेतावनी दिइएको थियो। पछिल्लो समय युएईमा जारी गरिएको यो पहिलो त्यस्तो चेतावनी रहेको बताइएको छ।
युएईले सरकारी स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित ट्याङ्करलाई समुद्रमा पटक-पटक निशाना बनाइएको आरोपसमेत लगाउँदै आएको छ। समुद्री मार्ग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित घटनाले युएईको सुरक्षा चिन्ता थप बढाएको छ।
मध्यपूर्वमा युद्ध सुरु भएयता युएईले इरानी आक्रमणको ठूलो दबाब सामना गरेको बताइएको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता करिब तीन हजार क्षेप्यास्त्र तथा ड्रोन युएईतर्फ लक्षित गरिएको दाबी गरिएको छ।
तर जुनमा इरान र अमेरिकाबीच समझदारी कार्यान्वयनमा आएपछि युएईमा अन्य खाडी मुलुकको तुलनामा प्रत्यक्ष आक्रमणका घटना कम भएका थिए। उक्त समझदारी पछि भत्किए पनि युएईमा केही समय तुलनात्मक रूपमा शान्ति कायम रहेको थियो।
इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने युएईको पछिल्लो निर्णयले दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने देखिएको छ। साथै, यसले समुद्री सुरक्षा र मध्यपूर्वमा जारी क्षेत्रीय तनाव थप बढ्ने चिन्ता समेत बढाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal