• Menu

म्याक्सस ई-टेरेनमा ५ लाखसम्म छुट, अफर भदौ १५ सम्म निरन्तर रहने

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार ११:४२

म्याक्सस ई-टेरेनमा ५ लाखसम्म छुट, अफर भदौ १५ सम्म निरन्तर रहने

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ४४ वटा म्याक्सस ई-टेरेन विद्युतीय पिकअपको बुकिङ भएको जनाएको छ । बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम संस्करणका छन् ।

कम्पनीले करिब तीन साताअघि सार्वजनिक गरेको ई-टेरेन कम्फर्ट संस्करणको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्स्पोका क्रममा कम्पनीले यसमा २ लाख रुपैयाँ छुट दिएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम संस्करणमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो ।

एक्स्पोपछि पनि छुट सुविधा कायम राख्न ग्राहकबाट आग्रह आएपछि कम्पनीले भदौ १५ गतेसम्मका लागि उक्त अफर निरन्तरता दिएको जनाएको छ । छुट सुविधामा म्याक्सस ई-टेरेन खरिद गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन् ।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बजारमा आएको म्याक्सस ई-टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको दाबी छ । विशेषगरी युवा, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने व्यक्ति तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यसलाई रुचाएको बताइएको छ ।

उच्च ग्राउन्ड क्लियरेन्स, आधुनिक सुविधा तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले निर्माण तथा जलविद्युत् क्षेत्रमा कार्यरत ग्राहकका लागि समेत यो पिकअप उपयोगी हुने कम्पनीले जनाएको छ ।

चीनको एसएआईसीअन्तर्गत म्याक्ससले उत्पादन गरेको ई-टेरेनमा विभिन्न आधुनिक सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ । हिमालय मोटरक्सले बिक्रीपछिको सेवाका लागि आवश्यक स्पेयर पार्ट्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।