गोरखा । साउन १८ गते सोमबार बिहान करिब ११ बजेको थियो। बिहानैदेखि अविरल वर्षा भइरहेको थियो। गोरखा नगरपालिका-९ लक्ष्मीबजारस्थित घरमा ५९ वर्षीय मानसिंह गुरुङ, उनकी श्रीमती चित्रकुमारी र दुई वर्षी य नाति खाना खाएर आराम गरिरहेका थिए।
अचानक घरभित्र चट्चट् केही चुँडिएको जस्तो आवाज सुनियो। केही सेकेन्डमै फेरि ठूलो आवाज आयो। आँगन चिरिन थाल्यो, छापिएका ढुंगा भत्किए र घरका इँटाका गाह्रो उप्किन थाले। परिवारका सदस्य आत्तिएर सडकतर्फ दौडिए। त्यही क्रममा घरसम्म तानिएको बिजुलीको तारसमेत चुँडियो।
हेर्दाहेर्दै मानसिंहको चारतले घर गल्र्याम्म ढल्यो।
‘केही मिनेटमै घर गल्र्याम, गुर्लुम्म ढल्यो। मैले त केही सोच्नै सकिनँ, होसै हराएजस्तो भयो,’ मानसिंहले भने।
मानसिंहको पुख्र्यौली थलो लक्ष्मीबजार होइन। उनी शहीदलखन गाउँपालिका-१ ठूलो दिप्लिङबाट बसाइँ सरेर आएका हुन्। राम्रो शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा ठूलो दिप्लिङ, सानो दिप्लिङ, खान्चोक, बक्राङलगायत गाउँका धेरै परिवार लक्ष्मीबजारमा आएर बसोबास गर्दै आएका छन्।
प्रहरी सेवाबाट २०६० सालमा अवकाश लिएपछि वैदेशिक रोजगारीमा समेत गएका मानसिंहले आफ्नो जीवनभरको कमाइबाट २०६६ सालतिर लक्ष्मीबजारमा घडेरी जोडे। त्यसपछि २०७४ सालमा करिब ७७ लाख रुपैयाँ खर्च गरेर चारतले घर निर्माण गरे।
घर निर्माण गर्दा आवश्यक मापदण्ड पूरा गरेको उनी बताउँछन्। तर घर बनेको १० वर्ष नपुग्दै यसरी ढल्छ भन्ने उनले कहिल्यै कल्पना गरेका थिएनन्।
गत शनिबारदेखि परेको वर्षाका कारण घरबाट केही मिटर पर सडकमा चिरा देखिएको थियो। सोमबार भने घर जगैदेखि भासिएर ढल्यो। घर ढल्दा छेउमा रहेको छिमेकी किसनदेवको घरमा समेत क्षति पुगेको छ। ढलेको घरका भग्नावशेषसमेत क्रमशः तलतिर सर्दै गएको बताइएको छ।
घर ढलेको खबर पाएपछि मानसिंहका छोरा आकाश मनकामनाबाट हतारिँदै घर पुगे। परिवारका सबै सदस्य सकुशल रहेको थाहा पाएपछि उनले केही राहत महसुस गरे।
‘धन्न परिवारमा कसैलाई केही भएन। घर ढल्दा भाडामा बस्ने ठेकेदार पनि भित्र परेछन्, धन्न उहाँलाई पनि केही भएन,’ आकाशले भने।
मानसिंहकी ५३ वर्षीया श्रीमती चित्रकुमारी भने अझै घर ढलेको घटनाबाट सम्हालिन सकेकी छैनन्। उनी दिनभर घर हेर्न आउने मानिसहरूसँग कुरा गरेर मन भुलाउने प्रयास गर्छिन्। तर साँझ परेपछि चिन्ता झन् बढ्ने गरेको बताउँछिन्।
‘१७-१८ वर्ष भयो यहाँ आएको। धेरै वर्ष अरूको घरमा भाडामा बस्यौँ। बल्लतल्ल दुःखसुख गरेर आफ्नै घर ठड्याएका थियौँ। आज सोच्दै नसोचेको भयो। आँखैअघि घर लड्दा केही सोच्नै सकेकी छैन,’ उनले भनिन्।
घर गुमेपछि गुरुङ परिवार अहिले स्थानीय सन्तबहादुर गुरुङको घरमा आश्रय लिएर बसेको छ। सन्तबहादुरले परिवारका लागि एउटा कोठा खाली गरिदिएका छन्। नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा घरभित्र रहेका केही महत्वपूर्ण कागजात, फर्निचर, लत्ताकपडा तथा अन्य सामान निकालिएको छ।
तर अब कहाँ बस्ने र कसरी जीवन चलाउने भन्ने चिन्ता परिवारमा थपिएको छ। चित्रकुमारीका अनुसार सहयोग केही दिनका लागि मात्र हुने भएकाले दीर्घकालीन पुनर्वासको व्यवस्था आवश्यक छ।
‘बुढा पनि अब ६० पुग्न लागे, जागिर खान पाउँदैनन्। म कहाँ गएर कमाऊँ? कहाँ बस्ने, कसरी मुखहात जोड्ने भन्ने पिर लागेको छ। जीवनभरको कमाइ त्यही एउटा घर थियो, त्यो पनि गयो। हाम्रो त बाँच्ने आधार नै गयो,’ उनले भनिन्।
मानसिंह परिवारले विकास निर्माणका क्रममा भएको लापरबाहीका कारण आफ्नो घरमा क्षति पुगेको दाबी गरेको छ। कल्भर्ट निर्माणमा भएको त्रुटिका कारण यस्तो अवस्था आएको भन्दै उनीहरूले राज्यले घटनाको जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।
गोरखा नगरपालिकाले तत्काल राहतस्वरूप गुरुङ परिवारलाई २५ हजार रुपैयाँ नगद उपलब्ध गराएको छ। वडा नं. ९ का वडाध्यक्ष कुलबहादुर कुँवरले पनि ५० हजार रुपैयाँ सहयोग गरेका छन्। गुरुङ समाज, टोल विकास संस्था तथा अन्य संघसंस्थाले खाद्यान्नलगायत सहयोग गरेका छन्।
गुरुङ परिवारको पुनर्वासका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत घर निर्माणमा चार लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउन सकिने गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताएका छन्। यद्यपि यस विषयमा थप निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।
मानसिंहका लागि त्यो घर केवल चारतले संरचना थिएन। वर्षौंको मेहनत, जागिर र वैदेशिक रोजगारीबाट जम्मा गरेको कमाइ तथा परिवारलाई सुरक्षित र सहज जीवन दिने सपना थियो। केही मिनेटमै त्यो सपना आँखैअघि ढलेपछि अहिले उनको परिवार आश्रयको खोजीमा छ।