• Menu

नाइमा अटोमोबिलिटी प्रदर्शनीमा एथर नेपालका ५०० भन्दा बढी स्कुटर बुकिङ

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १२:०६

नाइमा अटोमोबिलिटी प्रदर्शनीमा एथर नेपालका ५०० भन्दा बढी स्कुटर बुकिङ

काठमाडौं । एथर नेपालले नाइमा अटोमोबिलिटी प्रदर्शनी २०२६ मा ५०० भन्दा बढी विद्युतीय स्कुटरको बुकिङ प्राप्त गरेको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत सञ्चालित एथर नेपालले छ दिनसम्म चलेको प्रदर्शनीमा ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ।

प्रदर्शनीमा एथरका नयाँ विद्युतीय स्कुटर, प्रविधि, ब्याट्रीको दीर्घकालीन भरोसा, बिक्रीपछिको सेवा तथा चार्जिङ सुविधाप्रति ग्राहकको विशेष आकर्षण देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रदर्शनीमा प्राप्त बुकिङ केवल आकर्षक योजनाका कारण नभई विद्युतीय सवारीसाधनप्रतिको बढ्दो विश्वास, ब्याट्रीको सुनिश्चितता, सेवा पहुँच, चार्जिङ सञ्जाल र प्रयोगमैत्री प्रविधिमा गरिएको निरन्तर लगानीको परिणाम हो।

ब्याट्रीमा आठ वर्षसम्मको सुनिश्चितता

विद्युतीय स्कुटर खरिद गर्दा ब्याट्री, सेवा र चार्जिङ सुविधालाई ग्राहकले महत्वपूर्ण विषयका रूपमा लिन थालेपछि एथर नेपालले बिक्रीपछिको सेवामा विशेष ध्यान दिँदै आएको जनाएको छ।

एथरले ‘एटसेभेन्टी’ योजनाअन्तर्गत ब्याट्रीमा आठ वर्ष वा ८० हजार किलोमिटरसम्मको प्रत्याभूति उपलब्ध गराउँदै आएको छ। लागू हुने सर्तअनुसार ब्याट्रीको क्षमता कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता पनि यसमा समावेश छ।

कम्पनीले नेपालभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र विस्तार गरिसकेको जनाएको छ। यसले ग्राहकलाई स्कुटर खरिदपछि पनि नियमित सेवा तथा चार्जिङमा सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।

नयाँ ओभरटोन शृङ्खलाप्रति आकर्षण

नाइमा अटोमोबिलिटी प्रदर्शनी २०२६ मा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन शृङ्खलाले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो।

नयाँ शृङ्खलामा रहेको ‘म्याजिक ट्विस्ट’ सुविधामार्फत थ्रोटल घुमाएर पुनःऊर्जा उत्पादन गर्ने ब्रेकिङ प्रणालीलाई सहज रूपमा नियन्त्रण गर्न सकिन्छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ सुविधाले लामो दूरीको यात्रा सहज बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

‘भोइस अन एथर’ सुविधाले आवाजमार्फत स्कुटरसँग संवाद तथा विभिन्न विद्युतीय सुविधाको प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ।

नयाँ ओभरटोन शृङ्खलासँगै एथर ४५० शृङ्खला र रिज्टा परिवारका स्कुटरले पनि ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न विकल्प उपलब्ध गराएका थिए।

बुकिङलाई ग्राहकको विश्वासको संकेतका रूपमा हेरिएको

एथर नेपालले नाइमा प्रदर्शनीमा प्राप्त ५०० भन्दा बढी बुकिङलाई बिक्रीको उपलब्धताभन्दा पनि नेपालमा विद्युतीय गतिशीलताप्रति बढ्दै गएको ग्राहकको विश्वासको संकेतका रूपमा लिएको छ।

कम्पनीका अनुसार ग्राहकहरू अब केवल तत्कालीन छुट तथा योजनाका आधारमा विद्युतीय स्कुटर खरिद गर्ने अवस्थामा छैनन्। उनीहरूले उत्पादनको गुणस्तर, ब्याट्रीको दीर्घकालीन सुनिश्चितता, सेवा तथा चार्जिङको पहुँच र दैनिक यात्रालाई सहज बनाउने प्रविधिलाई समेत प्राथमिकता दिन थालेका छन्।

एथर नेपालले प्रविधि, विश्वसनीयता र ग्राहक सुनिश्चिततालाई केन्द्रमा राख्दै नेपालमा विद्युतीय सवारीसाधनको सेवा तथा चार्जिङ संरचना विस्तारलाई निरन्तरता दिने जनाएको छ।

कम्पनीले नयाँ प्रविधि, विस्तार हुँदै गएको चार्जिङ सञ्जाल, बढ्दो सेवा केन्द्र र दीर्घकालीन ब्याट्री सुनिश्चिततामार्फत नेपाली उपभोक्ताका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई थप सहज, भरपर्दो र व्यावहारिक बनाउने लक्ष्य राखेको छ।