• Menu

सभामुख अर्याल र अस्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता, संसदीय सहकार्य र द्विपक्षीय हितमा छलफल

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार १७:०६

सभामुख अर्याल र अस्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता, संसदीय सहकार्य र द्विपक्षीय हितमा छलफल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अस्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ । संघीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल-अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।

भेटमा सभामुख अर्यालले संघीय संसद्ले नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै दुई देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत सहकार्य बढाउनुपर्नेमा जोड दिए । साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धि गर्न संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो।

सभामुख अर्यालले नेपालको सामाजिक तथा आर्थिक विकासमा अस्ट्रेलिया सरकारले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरे । विशेषगरी अस्ट्रेलिया अवार्ड छात्रवृत्ति, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पुर्‍याएको योगदानका लागि उनले धन्यवाद व्यक्त गरे ।

भेटमा जनस्तरीय सम्बन्धलाई नेपाल-अस्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको बताए । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।

सभामुख अर्यालले राजदूत अन्स्र्टमार्फत अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे ।

भेटमा राजदूत अन्स्र्टले नेपाल-अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने बताए । शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।