• Menu

नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु, ५३ ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन मुख्य आकर्षण

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार १५:११

नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु, ५३ ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन मुख्य आकर्षण

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सुरु भएको हो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको ६ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ ।

एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरे । एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन् । एक्स्पो संयोजक गौरव शारडाका अनुसार ५३ वटा ब्रान्ड सहभागी भएका छन् ।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड देखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकैठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटकपटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल गरेर मात्रै नीतिहरु परिवर्तन गर्न सरकारलाई सुझाव समेत दिइन ।

अध्यक्ष सिंहले अवको मोबिलिटी भनेकै विद्युतीय सवारीसाधन भएकाले यस क्षेत्रलाई अझै केही वर्ष प्रोत्साहन गरेर जानुपर्ने बताइन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारीसाधन बिक्री गरेर मात्रै नहुने भन्दै सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरुलाई सुझाव दिए । उनले धेरै ब्रान्डले बिक्रीपछि राम्रो सेवा नदिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।

सिएनआईका अध्यक्ष विरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने बताए । उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सँधै राजस्वको स्रोतको रुपमा मात्रै हेरेको गुनासो गरे । उनले अटोमोबाइल क्षेत्रलाई बिलासी नभई आवश्यकताको क्षेत्रको रुपमा लिन सुझाव दिए । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सार दर लागू गरिएको बताए ।

सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन सुझाव दिए । उनले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराउनेछन् ।
एक्स्पो बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिनेछ ।