
काठमाडौं । पर्साको वीरगन्जमा काठमाडौं पुर्याउन लागिएको पेट्रोलियम पदार्थ चोरी गरी बिक्री-वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ट्यांकरसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका-१४ स्थित बाइपास सडकखण्डको सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्यांकरबाट इन्धन चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३ का सुनैन मियाँ, वडा नं. १५ का असलम हवारी, वडा नं. ११ का रफिक मियाँ तथा हेटौंडा उपमहानगरपालिका-१० का केशरराम सुनार, वडा नं. १४ का मन्दसिंह लामा र उमेश राना मगर रहेका छन् ।
प्रहरीका अनुसार उक्त ट्यांकरले भारतको इण्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको काठमाडौंस्थित हवाई इन्धन डिपोसम्म पुर्याउनुपर्ने २० हजार लिटर क्षमताको इन्धन बोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार ट्यांकरबाट इन्धन चोरी भइरहेको अवस्थामा टोलीले छापा मारेर ट्यांकरसहित सबैलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal