• Menu

दाङमा एक वर्षमा लागुऔषधका १२६ मुद्दा दर्ता, २३३ जना पक्राउ

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १७:५८

दाङमा एक वर्षमा लागुऔषधका १२६ मुद्दा दर्ता, २३३ जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले यही साउन १३ गते गढवा गाउँपालिका-१ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा ३५ किलो लागुऔषधसहित रुकुमपूर्वको भूमे गाउँपालिका-२ का २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गर्‍यो ।

अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा ३५ किलो चरेस बोकेर बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसलाई नियन्त्रणमा लिएको हो ।

हाइसको पछिल्लो सिटमा राखिएका दुईवटा कालो झोला र एउटा नीलो रङको सुटकेस जाँच गर्दा उक्त परिमाणको चरेस फेलापरेको जिल्ला प्रहरी कार्यालयका एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले बताए । सो घटनासँग जोडिएका एक जना फरार भएपछि निजको खोजीलाई तीव्र पारिएको जनाउँदै यससम्बन्धी मुद्दा दर्ता भइसकेको उनले बताए । घटनासँग सम्बन्धित पुनमाथि भने मुद्दा चलाएको छ ।

गत पुस ७ गते सुर्खेतका ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका-१५ का ३२ वर्षीय गुड्डु कवडिया र सोही ठाउँका २४ वर्षीय रुक्सा कवडियालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गर्यो । उनीहरूलाई नेपालगन्जबाट बा१९च ८८३३ नम्बरको सवारीबाट दाङतर्फ आउँदै गरेको अवस्थामा लमही नगरपालिका(९ को अमेलियामा जाँचका क्रममा १८० ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा उनीहरू सवार गाडी जाँच गर्दा सेतो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूबाट नगद रु सात हजार, मोबाइल तीन थान र सवार गाडीलाई दाङ प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ओसारपसार तथा बिक्री वितरणसम्बन्धी कसुरमा जिल्ला अदालत देउखुरीमा मुद्दा दर्ता गराइएको छ । यी दुई उदाहरण मात्र हुन्, जिल्लामा लागुऔषधका घटना दिनहुँजसो भेटिन्छन् ।

यसैबीच, जिल्लामा आर्थिक वर्षमा २०८२/८३ मा १२६ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केसीले उक्त घटनामा संलग्न २३३ जना पक्राउ परेका जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूबाट करिब ४१४ ग्राम ब्राउनसुगर, ११ किलो २८८ ग्राम चरेस, १३ किलो गाँजा र तीन हजार ५३२ थान नाइट्राजेपाम तथा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ ।

आव २०८१/८२ मा १०६ मुद्दा दर्ता हुँदा १७८ जना पक्राउ परेका छन् । जसमा ९९ ग्राम ब्राउनसुगर, १९ किलो १९९ ग्राम गाँजा, ११ किलो १८० ग्राम अफिम, ६ हजार ८०५ नाइट्राजेपाम र ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । आव २०८०/८१ मा ५२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुँदा ९८ जना अभियुक्त पक्राउ परेका छन् ।

यसैबीच, सामुदायिक प्रहरी सेवा केन्द तुलसीपुरका सल्लाहकार खुमानन्द अधिकारले बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसार न्यूनीकरणका लागि सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले अहिले धेरैजसो युवा लागुऔषधको कुलतमा फस्ने गरेकाले उनीहरूलाई अभिभावकले समय दिएर परामर्श गर्नुपर्ने बताए ।

जीवनको बारेमा नबुझदा, प्रविधिको दुरुपयोग, अभिभावकको लापरवाही, चेतना अभाव, आर्थिक प्रलोभन, उच्च महत्वकाङ्क्षाका, गरिबी, कुलतलगायत कारणले लागुऔषधका घटना दिनप्रतिदिन बढिरहेका सामाजिक अभियान्ता विमल रिजालले बताए । उनले लागुऔषधका घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने, युवाहरूलाई आयमूलक क्षेत्रमा जोड्ने किसिमका कार्यक्रम स्थानीय तह र सरोकार भएका निकायले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

लागुऔषध समाजका लागि जटिल समस्याका रूपमा देखा परिरहेकाले यस्ता घटना रोक्न प्रहरीले समुदायमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताए ।

उनले बढ्दो लागुऔषध ओसारपसार तथा प्रयोगलाई नियन्त्रण गर्न ‘स्वीप अपरेसन’ अभियान सुरु गरिएको जनाउँदै यो अभियान सफल बनाउन स्थानीय सरकार, सरोकार भएका निकाय, नागरिक समाजलगायतको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

जिल्लाका विभिन्न पालिकामा रहेका सरकारी तथा निजी विद्यालयमा पुगेर विद्यार्थीलाई जागरुक बनाउने, लागुऔषधको दुर्व्यसनका नकारात्मक पक्षबारे सचेत बनाउने, लागुऔषध ओसारपसार कार्यमा संलग्न भएको पाइएमा कानुनबमोजिम सजायका बारेमा प्रशिक्षण दिँदै आइएको उनले जानकारी दिए ।