• Menu

कञ्चनपुरमा पर्याप्त मल पुगे पनि अभाव किन ? वितरण प्रणालीमाथि प्रश्न

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १८:०८

कञ्चनपुरमा पर्याप्त मल पुगे पनि अभाव किन ? वितरण प्रणालीमाथि प्रश्न

काठमाडौं । कञ्चनपुरमा अघिल्लो वर्षको तुलनामा बढी परिमाणमा रासायनिक मल उपलब्ध गराइए पनि किसानले मल अभावको समस्या झेलिरहेपछि यसको वितरण प्रणालीमाथि प्रश्न उठेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक हेमराज जोशीले यस वर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको रासायनिक मल बिक्री–वितरण भइसके पनि अभाव देखिनु आश्चर्यजनक भएको बताए।

उनका अनुसार गत वर्ष सात हजार १०० मेट्रिकटन मल छ वटा पालिकामा सहकारीमार्फत वितरण हुँदा अभावको गुनासो आएको थिएन। यस वर्ष भने करिब ४०० मेट्रिकटन बढी मल वितरण हुँदासमेत किसानले अभावको सामना गरिरहेका छन्।

बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानले भने धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानको मल लिने गरेका छन्।

प्रबन्धक जोशीले मल वितरण प्रक्रियामै समस्या हुन सक्ने आशंका व्यक्त गर्दै पालिकास्तरबाट प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। उनका अनुसार कञ्चनपुरका छ वटा पालिकामा ११० वटा सहकारीमार्फत मल वितरण भइरहेको छ भने सहकारीले पालिकाले तोकेको मूल्यभन्दा बढीमा मल बिक्री गर्न नपाउने व्यवस्था रहेको छ। कम्पनीले सहकारीलाई प्रतिवोरा युरिया मल ९४४ रुपैयाँमा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार यस वर्ष गत वर्षभन्दा करिब ५०० मेट्रिकटन बढी युरिया मल बिक्री भइसकेको छ। तीन वटा पालिकामा प्रत्यक्ष वितरण घटाइएको अवस्थामा पनि कुल वितरण बढेकाले अभाव देखिनु वितरण प्रक्रियामा अनियमितता भएको हुन सक्ने संकेत भएको प्रबन्धक जोशीको भनाइ छ।

यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका-२ गोकुलपुरका तीन जना किसान भारतबाट युरिया मल ल्याउने क्रममा भारतीय सुरक्षा बलद्वारा पक्राउ परेका छन्। बेलौरी नगरपालिका-२ का वडाध्यक्ष कलबीर चौधरीका अनुसार धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई भारतीय पक्षले जनही एक हजार रुपैयाँ जरिवाना गरेपछि उनीहरू घर फर्किएका छन्।