काठमाडौं । दोलखाको रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालमा गत कात्तिक १७ गते गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। लामो समयसम्म बाक्लो हिउँमुनि पुरिएका शव हिउँ पग्लिन थालेपछि स्थानीयवासीले फेला पारेका हुन् ।
गौरीशंकर गाउँपालिका-९ का वडाध्यक्ष निमगेली शेर्पाका अनुसार स्थानीयले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी गर्ने क्रममा पाँचै जनाको शव भेट्टाएका हुन्। लामो समयदेखि हिउँले ढाकिएको क्षेत्रको हिउँ घटेपछि शव देखिन थालेको उनले जानकारी दिए ।
पछिल्लो विवरणअनुसार हिमपहिरोमा बेपत्ता रहेका पाँच जनामा क्यानडाका मार्को डी मार्सेलो, इटालीका मार्कुस किर्चलर, जर्मनीका याकोब श्राइबर तथा नेपाली नागरिक मेरे कार्की र पदम तामाङ रहेका छन्। यसअघि इटालीका पाओलो कोक्को र फ्रान्सेली नागरिक क्रिस्टियन आन्द्रे मनफ्रेदीको शव उद्धार भइसकेको थियो ।
शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल लैजाने तयारी भइरहेको छ। तर प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन नसक्दा उद्धार टोली अझै घटनास्थल पुग्न सकेको छैन ।
वडाध्यक्ष शेर्पाले मौसम अनुकूल हुनेबित्तिकै सेना र प्रहरीको टोली घटनास्थल पुगेर शवको पहिचान, उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए ।
गत २०८२ कात्तिक १७ गते बिहान यलुङ रि क्षेत्रमा गएको हिमपहिरोमा आरोहण टोली प्रभावित भएको थियो। त्यस घटनामा सात जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। हिमपहिरोपछि खराब मौसम, बाक्लो हिउँ र चट्टानका कारण बेपत्ता पाँच जनाको खोजी कार्य सफल हुन सकेको थिएन ।
लामो समयपछि शव फेला परेसँगै बेपत्ता व्यक्तिहरूको अवस्थाबारे रहेको अन्योल अन्त्य भएको छ। यद्यपि शव उद्धार र थप प्रक्रिया भने मौसममा सुधार आएपछि मात्रै अघि बढ्ने जनाइएको छ ।