• Menu

ग्यासको माग-आपूर्तिमा सन्तुलन ल्याउन सरकार सक्रिय छ : उद्योगमन्त्री

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १५:५९

ग्यासको माग-आपूर्तिमा सन्तुलन ल्याउन सरकार सक्रिय छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारमा ग्यासको अभाव हुन नदिन आपूर्ति व्यवस्थापन, सहजीकरण र बजार अनुगमनलाई तीव्र बनाइएको जानकारी दिइन्। उनले अफवाहको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तासँग आग्रह पनि गरिन् ।

मन्त्री यादवका अनुसार अघिल्लो वर्षको तुलनामा पर्याप्त परिमाणमा ग्यास आयात भइरहेको भए पनि विगतमा आधा भरिएका सिलिन्डर वितरण हुने अवस्थाको अन्त्य गरी अहिले पूर्ण सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा माग एकाएक बढेको र त्यसले अस्थायी रूपमा माग-आपूर्तिमा असन्तुलन सिर्जना गरेको हो ।

उनले हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जानकारी दिँदै ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको तथा करिब एक करोड ७५ लाख सिलिन्डर फिलिङ गर्ने क्षमता रहेको बताइन् ।

मन्त्री यादवले संसदीय समितिको निर्देशनअनुसार बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको र एलपी ग्यास सिलिन्डरको ट्र्याकिङ प्रणाली लागू गर्न नेपाल आयल निगमले आवश्यक प्राविधिक प्रक्रिया सुरु गरिसकेको जानकारी दिइन् ।

बढ्दो मागलाई सम्बोधन गर्न आगामी तीन महिनाका लागि भारतबाट ग्यास आयातको कोटा बढाउने विषयमा कूटनीतिक पहल भइरहेको पनि उनले स्पष्ट पारिन् ।

साथै, घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क विवरण अभिलेख राखी व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइने व्यवस्था गरिएको मन्त्री यादवले बताइन् ।