• Menu

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, ईपीएस पनि बढ्यो

नेपाल प्रफिट

२०८३ साउन २१, १०:४२

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, ईपीएस पनि बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा, खुद ब्याज आम्दानी, प्रति सेयर आम्दानी र लाभांश वितरण क्षमतामा वृद्धि भएको छ ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५२.९६ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले २४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा नाफामा सकारात्मक प्रभाव परेको हो । बैंकले अघिल्लो वर्ष १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गतवर्ष ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन मुनाफा पनि ५८ करोड ४० लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेको र कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज)बापत गतवर्षभन्दा कम रकम छुट्याउनु पर्दा बैंकको नाफामा वृद्धि भएको हो । बैंकले इम्पेरमेन्ट चार्ज शिर्षकमा १३ करोड ५० लाख रुपैयाँ व्यवस्था गरेको छ । गतवर्ष ७७ करोड ८७ लाख रुपैयाँ व्यवस्था गरेको थियो ।

वितरणयोग्य नाफा
बैंकको वितरणयोग्य मुनाफामा पनि उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड ४३ लाख ६६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकसँग अहिले ६१ करोड ५५ लाख ८० हजार रुपैयाँ छ ।

प्रतिसेयर वितरणयोग्य नाफा पनि ५ रुपैयाँ ९ पैसाबाट बढेर १६ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

निष्क्रिय कर्जा
बैंकको नाफामा राम्रो सुधार भए पनि निष्क्रिय कर्जा भने बढेको छ । निष्क्रिय कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ ।

निष्क्रिय कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि भविश्यमा थप रकम छुट्याउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले, बैंकले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रति सेयर आम्दानी
बैंकको प्रति सेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । प्रति सेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा कायम भएको छ । यसले बैंकको प्रतिफल क्षमतामा सुधार हुँदै गएको देखाउँछ ।

मूल्य–आम्दानी अनुपात २०.५८ गुणा, प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

निक्षेप, कर्जा र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ०.२६ प्रतिशत र कर्जा प्रवाह ०.०२ प्रतिशत घटेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा गरी कुल ४ अर्ब १२ कारोड रुपैयाँ सञ्चित रहेको छ ।