• Menu

कृषि विकास बैंकको नाफा घट्यो

नेपाल प्रफिट

२०८३ साउन २१, ०७:२०

कृषि विकास बैंकको नाफा घट्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा र लाभांश वितरण क्षमतामा गिरावट आएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.५२ प्रतिशत कम हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि घटेको छ । अघिल्लो वर्ष ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा गतवर्ष ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ छ । सञ्चालन मुनाफा पनि ५ अर्ब २१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा झरेको छ ।

ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको, कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज)बापत बढी रकम छुट्याउनुपर्दा बैंकको नाफामा गिरावट आएको देखिन्छ । बैंकले इम्पेरमेन्ट चार्ज शिर्षकमा १ अर्ब १७ करोड २७ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

वितरणयोग्य नाफा
बैंकको वितरणयोग्य मुनाफामा पनि संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ८१ वितरणयोग्य मुनाफा रहेको बैंकसँग अहिले १ अर्ब २६ करोड २१ लाख रुपैयाँ मात्र वितरणगर्न मिल्ने नाफा छ ।

प्रति सेयर वितरणयोग्य नाफा पनि १७ रुपैयाँ ९८ पैसाबाट घटेर ६ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

निष्क्रिय कर्जा
बैंकको नाफामा गिरावट आउनुको एउटा कारण निष्क्रिय कर्जा बढेर जानु पनि हो । बैंकको निष्क्रिय कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशतमा पुगेको छ ।

निष्क्रिय कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि थप रकम छुट्याउनु परेको छ । त्यसैले, बैंकले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिसेयर आम्दानी
बैंकको प्रति सेयर आम्दानीमा पनि गिरावट आएको छ । प्रति सेयर आम्दानी २४ रुपैयाँ ५९ पैसाबाट घटेर १६ रुपैयाँ ११ पैसा कायम भएको छ । यसले बैंकको प्रतिफल क्षमतामा सुधार हुन नसकेको देखाउँछ ।

मूल्य–आम्दानी अनुपात १९.१८ गुणा, प्रति सेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

निक्षेप, कर्जा र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा १८.३६ प्रतिशत र कर्जा प्रवाह १६.२४ प्रतिशत बढेको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा गरी कुल ३८ अर्ब ९० कारोड रुपैयाँ रहेको छ ।