
महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीको साउन १९ गतेको निर्णयअनुसार समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, काठमाडौं महानगरपालिका-२८ तथा पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा मंगलबार पुस्तकालयको ताला खोलिएको हो । तालाबन्दीको ११४औँ दिनमा पुस्तकालय पुनः सञ्चालनमा आउने भएपछि पाठकलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
भृकुटीमण्डपस्थित परिषद्को स्वामित्वमा रहेका भवनको भाडा विवादका कारण गत चैत ३० गतेदेखि पुस्तकालय बन्द भएको थियो। परिषद्का अनुसार पुस्तकालय समाजसँग २०६६ सालदेखि भाडा सम्झौता नवीकरण हुन नसक्दा विवाद बढेको थियो ।
पुस्तकालय समाजले सार्वजनिक सेवा भएकाले विगतझैँ ७५ प्रतिशत भाडा छुट कायम गर्नुपर्ने माग गर्दै आएको थियो । तर परिषद्ले पूर्ण भाडा तिर्नुपर्ने अडान राख्दै करिब दुई करोड ८५ लाख रुपैयाँ बक्यौता रहेको जनाएको छ। यही विषयमा सहमति नजुट्दा पुस्तकालयमा तालाबन्दी गरिएको थियो ।
पुस्तकालयका व्यवस्थापक लीलाप्रसाद भट्टराईले अब परिषद्को मातहतमा सञ्चालन हुने भएपछि व्यवस्थापनको मोडालिटीबारे थप छलफल गरिने जानकारी दिए ।
२०६० सालमा स्थापना भएको यस पुस्तकालयमा ५० हजारभन्दा बढी पुस्तक छन्, जसमध्ये करिब ७० प्रतिशत पुस्तक दाताबाट प्राप्त भएका हुन्। पुस्तकालयका करिब पाँच हजार वार्षिक सदस्य छन् भने दैनिक औसत १५० जना अध्ययनकर्ता आउने गरेका छन्।
पछिल्ला वर्षहरूमा सरकारी तथा स्थानीय तहबाट प्राप्त हुने अनुदान घटेपछि पुस्तकालय आर्थिक संकटमा परेको थियो। पुस्तकालय सञ्चालन तथा व्यवस्थापनमा वार्षिक करिब एक करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
लामो समयदेखि सार्वजनिक पुस्तकालय बन्द हुनुहुँदैन भन्ने आवाज बौद्धिक वर्ग र नागरिक समाजबाट उठ्दै आएको थियो । पुस्तकालय संरक्षण अभियानमा सक्रिय लेखक तथा सम्पादक विमल आचार्यले ढिलै भए पनि पुस्तकालय पुनः सञ्चालनमा आउनु सकारात्मक भएको भन्दै यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले पारदर्शी कार्यविधि बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal