• Menu

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै, आजै बोलकबोल हुने

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १२:०८

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै, आजै बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि आज अपराह्न ३:०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ ।

निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम १० करोड र अधिकतम रु पाँच करोड गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने छ ।

केन्द्रीय बैंकले निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ । एउटै संस्थाले फरक-फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेस गर्न सक्ने जनाइएको छ ।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय-समयमा निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।