• Menu

सामसुङको नाफामा १९ गुणाको ऐतिहासिक उछाल, मुनाफा १८ सय प्रतिशतले बढ्यो

नेपाल प्रफिट

२०८३ साउन १४, १३:२१

सामसुङको नाफामा १९ गुणाको ऐतिहासिक उछाल, मुनाफा १८ सय प्रतिशतले बढ्यो

एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै उच्च क्षमताका मेमोरी चिपको माग बढ्दा दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ। कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा करिब १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ।

कम्पनीको राजस्व अप्रिल-जुन अवधिमा एक हजार ७१५ खर्ब वोन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३० प्रतिशतले बढी हो। यसै अवधिमा शुद्ध नाफा पनि करिब एक हजार ३०० प्रतिशतले बढेर ७१६ खर्ब वोन पुगेको छ।

सामसुङले सर्भर तथा एआई डाटा सेन्टरका लागि आवश्यक मेमोरी चिपको उच्च मागका कारण आफ्नो मेमोरी व्यवसायले इतिहासकै उत्कृष्ट त्रैमासिक प्रदर्शन गरेको जनाएको छ। कम्पनीले वर्षको दोस्रो छ महिनामा पनि एआई पूर्वाधार विस्तार र सर्भरसम्बन्धी उत्पादनको माग बलियो रहने अपेक्षा गरेको छ।

यद्यपि बलियो वित्तीय नतिजाका बाबजुद एआई क्षेत्रमा भइरहेको तीव्र लगानीको दीर्घकालीन स्थायित्वप्रति लगानीकर्तामा चिन्ता बढेपछि दक्षिण कोरियाको सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा तीव्र बिक्री दबाब देखिएको छ । सामसुङको सेयर १२ प्रतिशतभन्दा बढी घटेको छ भने प्रतिस्पर्धी एसके हाइनिक्सको सेयरमा पनि उल्लेखनीय गिरावट आएको छ ।

सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन विश्वका प्रमुख उच्च-ब्यान्डविड्थ मेमोरी (एचबिएम) चिप उत्पादकमध्ये पर्छन् । यी चिपहरू एआई प्रोसेसर, च्याटबोट, जटिल गणना र यथार्थपरक तस्बिर निर्माणजस्ता प्रविधिमा प्रयोग हुने अत्यावश्यक कम्पोनेन्ट मानिन्छन् ।

कम्पनीका प्रमुख वित्तीय अधिकारी पार्क सून-चोलले विश्वव्यापी मेमोरी चिपको अभाव सन् २०२७ मा अझ गहिरिने र त्यसको प्रभाव सन् २०२८ सम्म रहने अनुमान व्यक्त गरेका छन् । सामसुङले अमेरिकाको टेक्सासस्थित टेलरमा निर्माणाधीन चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।

विश्लेषकहरूका अनुसार एआई प्रविधिको तीव्र विस्तारले उच्चस्तरीय मेमोरी चिपको माग अझ बढाइरहेको छ । सामसुङले हालै अमेरिकी चिप निर्माता ब्रोडकमसँग रणनीतिक सहकार्य गर्दै उन्नत मेमोरी समाधान विकास गर्ने घोषणा गरेको छ, जसले आगामी वर्षहरूमा कम्पनीको बजार विस्तारलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ ।