एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको छ। करिब एक सातादेखि रोकिएको सैन्य तनाव पुनः चर्किएसँगै मध्यपूर्वमा युद्धको जोखिम फेरि बढेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले इरानको आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाफ दिइने चेतावनी दिएका थिए ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी क्षेप्यास्त्रले पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा प्रहार गरेको भए पनि निर्जन क्षेत्रमा आक्रमण भएकाले मानवीय क्षति भएको छैन। यसअघि जोर्डनले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जनाएको थियो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरिएको स्वीकार गर्दै इरानमाथिको खतरा कायम रहेसम्म प्रतिरोध जारी रहने चेतावनी दिएको छ ।
यसैबीच, अमेरिका र साउदी अरेबियाले इराकभित्र इरानसमर्थित सशस्त्र समूहका आधार क्षेत्र तथा हतियार भण्डारणस्थलमा संयुक्त हवाई आक्रमण गरेका छन् । इराकको हसद अल-शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य तथा पाँच इरानी सैन्य सल्लाहकार मारिएको दाबी गरेको छ ।
इराक सरकारले अमेरिकी-साउदी आक्रमणको विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ। यद्यपि अमेरिकी पक्षले भने उक्त कारबाही इराकी सरकारसँगको समन्वयमा गरिएको दाबी गरेको छ।
युद्धको प्रभाव विश्व ऊर्जा बजारमा पनि देखिएको छ। तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ भने दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल पनि उच्च स्तरमा पुगेको छ ।
यसअघि अमेरिका र इरानबीच तनाव कम गर्दै नयाँ वार्ताको प्रयास भइरहेका बेला पछिल्लो घटनाले कूटनीतिक पहलमा गम्भीर धक्का पुगेको विश्लेषण गरिएको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा पनि तनाव बढ्दै गएको छ। इरानले जलघाँटीमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गर्दै केही तेल ट्यांकर नियन्त्रणमा लिएको र त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने योजना अघि सारेपछि क्षेत्रीय सुरक्षा थप जटिल बनेको छ ।
पछिल्लो घटनाक्रमसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत यसको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।