
एजेन्सी । इरान, ओमान र साउदी अरेबियाले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासलाई तीव्र बनाउने सहमति गरेका छन्।
इरानी विदेश मन्त्रालयका अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमद अल बुसाइदी र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै क्षेत्रीय सुरक्षा र समुद्री मार्गको सुरक्षाबारे छलफल गरेका हुन्।
वार्ताका क्रममा तीनै पक्षले क्षेत्रीय स्थायित्व कायम राख्न सहयोग विस्तार गर्ने, संयुक्त कूटनीतिक प्रयासलाई सशक्त बनाउने तथा अमेरिकी आक्रमणपछि स्ट्रेट अफ होर्मुज क्षेत्रमा उत्पन्न असुरक्षा अन्त्य गर्न आवश्यक पहल गर्ने विषयमा जोड दिएका छन्।
यसअघि इरान र ओमानबीच तेहरानमा भएको दुईदिने वार्तामा स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन, तटीय राष्ट्रहरूको सार्वभौम अधिकारको सम्मान तथा समुद्री यातायात व्यवस्थापनका सिद्धान्त र संयन्त्रबारे विचार आदान–प्रदान भएको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले जानकारी दिएका छन् ।
यसैबीच, अमेरिकी सेनाले पछिल्लो समय इरानमाथि विभिन्न चरणमा आक्रमण गरेको दाबी गरिएको छ। त्यसको जवाफमा तेहरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र सुविधालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको इरानी पक्षले जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal