• Menu

विद्यालयमा दिवा खाजा कार्यक्रमको वार्षिक प्रतिवेदन सार्वजनिक, ३० लाख बालबालिका लाभान्वित

नेपाल प्रफिट

२०८३ साउन १२, १४:४६

विद्यालयमा दिवा खाजा कार्यक्रमको वार्षिक प्रतिवेदन सार्वजनिक, ३० लाख बालबालिका लाभान्वित

काठमाडौं । विद्यालयमा सञ्चालन भइरहेको राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन-२०२५ सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई समेटिएको प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको हो ।

प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा तथा डब्लुएफपीका नेपालस्थित देशीय निर्देशक रियाज लोधीको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

प्रतिवेदनअनुसार नेपालमा विद्यालय दिवा खाजा कार्यक्रम सन् १९६७ मा सुरु भएको हो । हाल ७७ वटै जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमबाट करिब ३० लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमले विद्यालय भर्ना, विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा समुदाय र सहकारीमार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोड्दै घरेलु खाजाको प्रवर्धन गर्दा विद्यार्थीको पोषण अवस्थामा सुधार हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुगेको उल्लेख गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले बालबालिकामा लगानी गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै शिक्षा, पोषण, कृषि र स्थानीय आर्थिक विकासलाई एकसाथ अघि बढाउन विकास साझेदारको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले दिवा खाजा कार्यक्रमले बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनुका साथै सामूहिक सहकार्यको उदाहरण प्रस्तुत गरेको बताए । अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमले यस कार्यक्रममा नेपालको साझेदारका रूपमा अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगरले कार्यक्रमका कारण बालबालिकामा पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता घट्नुका साथै विद्यालयमा टिकाइदर बढेको बताए । डब्लुएफपीका देशीय निर्देशक रियाज लोधीले नेपाल सरकार, विकास साझेदार र समुदायसँगको सहकार्यबाट खाद्य सुरक्षा र पोषण सुधार गर्दै मानव पुँजी विकासमा सहयोग गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा नीति निर्माता, विकास साझेदार, विज्ञ तथा सरोकारवालाबीच विद्यालय दिवा खाजा कार्यक्रमको प्रभावकारिता र आगामी रणनीतिबारे छलफलसमेत गरिएको थियो ।