काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कँडेलले सल्लाहकारको भूमिकामा नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, ऊर्जा क्षेत्र सुधार तथा निजी क्षेत्रको लगानी प्रवर्द्धनसम्बन्धी नीति निर्माणमा रणनीतिक परामर्श प्रदान गर्ने छन् । साथै, बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई अघि बढाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् । उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयअन्तर्गत केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
उनीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक तथा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव रहेको छ।