• Menu

सुनसरीसहित देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना

नेपाल प्रफिट

२०८३ साउन १२, १३:५८

सुनसरीसहित देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा मंगलबार पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९०.६ मिलिमिटर वर्षा भएको थियो ।

विभागले पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५.४ मिलिमिटर वर्षा मापन भएको छ । आज देशका प्रायः स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् डेविट ढकालले आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिए । आज देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेश र कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

ढकालले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताए ।

आज राति पनि देशका पहाडी भू-भागका केही स्थान तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको बताइन्छ ।

विभागले भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।