• Menu

अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि मन्त्रालयको सुरक्षा समन्वय समिति ब्युँताइने

नेपाल प्रफिट

२०८३ साउन १२, १३:४०

अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि मन्त्रालयको सुरक्षा समन्वय समिति ब्युँताइने

काठमाडौं । स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटना नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ पुनः सक्रिय बनाउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६’ को दफा ५ बमोजिम गठन भएको उक्त समितिलाई नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानमा प्रभावकारी रूपमा परिचालन गरिनेछ ।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बाह्रौँ तहको कर्मचारी रहने व्यवस्था छ भने सम्बन्धित महाशाखा प्रमुख उपाध्यक्ष हुनेछन् । समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधि सदस्य रहनेछन् । मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्य-सचिव रहने व्यवस्था पनि ऐनमा उल्लेख छ ।

हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग बढिरहेका बेला मन्त्रालयले निष्क्रिय रहेको समितिलाई पुनः सक्रिय बनाएर तत्काल समस्या समाधान र आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको जनाएको छ ।