• Menu

रातिको दुर्घटना जोखिम कम गर्न कञ्चनपुरमा छाडा गाईबस्तुलाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

नेपाल प्रफिट

२०८३ साउन १२, १३:०९

रातिको दुर्घटना जोखिम कम गर्न कञ्चनपुरमा छाडा गाईबस्तुलाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

कञ्चनपुर । छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा छाडा पशुचौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ ।

स्थानीय युवाको सक्रियतामा गड्डाचौकीस्थित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा रहेका छाडा पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्न थालिएको हो। रातिको समयमा सवारी चालकले टाढैबाट पशुचौपाया देख्न सक्ने भएकाले दुर्घटना कम हुने विश्वास गरिएको छ।

अभियानअन्तर्गत सोमबार मात्रै १५० भन्दा बढी छाडा पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ। स्थानीय हेमराज भट्टका अनुसार रातिको समयमा राजमार्गमा छाडा पशु नदेखिँदा दुर्घटना बढेपछि करिब २०-२२ जना युवाले स्वस्फूर्त रूपमा अभियान सञ्चालन गरेका हुन्।

अभियानलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत सहयोग गरेका छन्। स्थानीय सरकारले छाडा पशु व्यवस्थापनमा पर्याप्त पहल गर्न नसकेपछि युवाहरू आफैं अभियानमा जुट्नुपरेको भट्टले बताए ।

कञ्चनपुरमा एक हजारभन्दा बढी छाडा पशुचौपाया रहेको अनुमान छ। शुक्लाफाँटा नगरपालिकाले पछिल्लो समय व्यवस्थापनको प्रयास थाले पनि अन्य स्थानीय तहका पहल प्रभावकारी हुन नसकेको जनाइएको छ।

समाजसेवी भट्टले छाडा पशुको संरक्षणसँगै सडक दुर्घटना न्यूनीकरणका लागि सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।