• Menu

दोषीलाई कारबाही नभएसम्म ओपीडी नखोल्ने चिकित्सक संघको अडान, ११ हजारभन्दा बढी बिरामी अलपत्र

नेपाल प्रफिट

२०८३ साउन १२, १२:३६

दोषीलाई कारबाही नभएसम्म ओपीडी नखोल्ने चिकित्सक संघको अडान, ११ हजारभन्दा बढी बिरामी अलपत्र

चितवन । नारायणी अस्पताल वीरगन्जका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चितवनका प्रमुख अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी प्रभावित भएका छन् ।

शनिबार वीरगन्ज महानगरपालिका-२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि परिवारले चिकित्सकीय लापरवाहीको आरोप लगाएका थिए। त्यसलगत्तै नारायणी अस्पतालका मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको आक्रमणमा उनी गम्भीर घाइते भएपछि चिकित्सकहरूले विरोधस्वरूप आकस्मिक सेवाबाहेकका उपचार सेवा स्थगित गरेका हुन् ।

भरतपुर अस्पतालमा दैनिक करिब तीन हजार ५००, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी तथा २३ वटा निजी साना अस्पतालमा चार हजारभन्दा बढी बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन्। सेवा बन्द हुँदा सबैभन्दा धेरै दीर्घरोगी र नियमित उपचार गराइरहेका बिरामी प्रभावित भएका छन्।

उपचारका लागि भरतपुर अस्पताल पुगेकी मायादेवी लम्सालले मधुमेह र उच्च रक्तचापको औषधि लिन नपाउँदा समस्या भएको बताइन् । अर्की सेवाग्राही रन्जीत तामाङले पनि बहिरङ्ग सेवा बन्द हुँदा उपचारबाट वञ्चित हुनुपरेको गुनासो गरिन् ।

नेपाल चिकित्सक संघ, चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिँदै चिकित्सकमाथिको आक्रमण निन्दनीय भएको र दोषीमाथि कारबाही नभएसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताए ।

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतको सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले सेवा अवरुद्ध हुँदा उनीहरू पनि प्रभावित भएका छन् ।