
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा हालै भएको संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नभएको उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र एकतालाई कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ।
रास्वपाले आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला पक्षलाई कुनै पनि प्रकारको उत्तेजना र अफवाहको पछि नलागी संयमता अपनाउन आग्रह गरेको छ। साथै, साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको छ।
विज्ञप्तिमा सरकार र स्थानीय प्रशासनसँग शान्ति सुरक्षा कायम गर्न तथा जनधनको सुरक्षा सुनिश्चित गर्दै अवस्था सामान्य बनाउन निरन्तर समन्वय भइरहेको उल्लेख गरिएको छ। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति र निःशुल्क उपचारसहित उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको जनाउँदै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गरिरहेको जनाएको छ। साथै, उक्त घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै पार्टीका स्थानीय समितिलाई पनि शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal