• Menu

सानिमा बैंकको नाफामा ३८ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफामा उल्लेख्य सुधार

नेपाल प्रफिट

२०८३ साउन ११, १२:३७

सानिमा बैंकको नाफामा ३८ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफामा उल्लेख्य सुधार

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा प्रमुख सूचकमा उल्लेखनीय सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवमा नाफा, प्रतिसेयर आम्दानी, इक्विटीमा प्रतिफल, वितरणयोग्य नाफा, कर्जा तथा निक्षेप विस्तारदेखि निष्क्रिय कर्जाको अनुपातसम्मका सूचकले बैंकको समग्र वित्तीय स्वास्थ्य मजबुत बन्दै गएको देखाएको हो ।

सबैभन्दा उल्लेखनीय रूपमा बैंकको करपछिको नाफा वार्षिक आधारमा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । उच्च नाफा वृद्धिले बैंकको सञ्चालन क्षमता, आम्दानी व्यवस्थापन र लागत नियन्त्रण प्रभावकारी रहेको स्पष्ट गरेको छ ।

त्यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । ईपीएसमा भएको यो वृद्धि सेयरधनीका लागि सकारात्मक हो । यसले प्रतिसेयरबाट आर्जन हुने आम्दानी उल्लेखनीय रूपमा बढेको देखाउँछ ।

त्यस्तै लगानीमा प्रतिफल (आरओई) ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ । आरओईमा सुधार हुनु भनेको बैंकले सेयरधनीको लगानीलाई अझ प्रभावकारी रूपमा उपयोग गरी राम्रो प्रतिफल सिर्जना गर्न सफल भएको संकेत हो ।

सेयरधनीका लागि थप सकारात्मक पक्ष भनेको प्रतिसेयर वितरणयोग्य नाफा हो । गत आवमा बैंकको वितरणयोग्य नाफा १५.४८ रुपैयाँबाट बढेर २०.८५ रुपैयाँ पुगेको छ । यो भनेको लाभांश वितरण क्षमता बढेको हो ।

व्यवसाय विस्तारतर्फ बैंकको कुल कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर २०३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ भने कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भई २ खर्ब ४९  अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । कर्जा र निक्षेप दुवैमा दोहोरो अंकको वृद्धि हुनुले बैंकले बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको संकेत हो ।

पुँजी पर्याप्तताको दृष्टिकोणबाट पनि बैंक सहज अवस्थामा देखिएको छ । बैंकको टायर वान क्यापिटल एडुकेसी रेसियो १०.१७ प्रतिशत छ भने कुल क्यापिटल एडुकेसी रेसियो १३.१० प्रतिशत छ । यी सूचकहरूले बैंकसँग सम्भावित जोखिम व्यवस्थापन गर्न पर्याप्त पुँजी आधार रहेको देखाउँछन् ।

बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार आएको छ । बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घट्नुलाई बैंकको कर्जा असुली सुधारिएको र जोखिम व्यवस्थापन प्रभावकारी बन्दै गएको रुपमा लिन सकिन्छ ।

समग्रमा बैंकको वित्तीय प्रदर्शन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुदृढ भएको देखिन्छ । नाफा, प्रतिसेयर आम्दानी, लगानीमा प्रतिफल र वितरणयोग्य नाफामा भएको वृद्धि सेयरधनीका लागि उत्साहजनक छ भने कर्जा तथा निक्षेप विस्तारले व्यवसायको निरन्तर वृद्धि पुष्टि गरेको छ ।

त्यस्तै पुँजी पर्याप्तता बलियो रहनु र निष्क्रिय कर्जा घट्नुले बैंकको जोखिम व्यवस्थापन क्षमता पनि सुदृढ हुँदै गएको स्पष्ट गरेको छ । सूचकहरूले बैंकले प्रतिफल, व्यवसाय विस्तार र वित्तीय स्थायित्व तीनै क्षेत्रमा सन्तुलित सुधार हासिल गरेको देखाएको छ ।