• Menu

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन र तोडफोड भएपछि सुनसरीको देवानगन्जमा सेना परिचालन

नेपाल प्रफिट

२०८३ साउन ११, १२:४७

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन र तोडफोड भएपछि सुनसरीको देवानगन्जमा सेना परिचालन

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ।

स्थानीय प्रशासनका अनुसार प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै हिंसात्मक गतिविधि बढाएपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो। सेनाको उपस्थितिपछि कप्तानगन्जको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको जनाइएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले क्षेत्रको अवस्था सामान्य बनाउन प्रयास गरिरहेको जानकारी दिए ।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।