
कञ्चनपुर। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, नागरिकमैत्री र सूचना-आधारित बनाउने उद्देश्यले कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले पुनर्वास नगरपालिका-११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा टोली परिचालनको घोषणा गरेका हुन् ।
उनका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सीमा सुरक्षा सुदृढीकरण योजनाअनुसार बिआइटी परिचालन गरिएको हो। सीमा नाकामा कडा सुरक्षा कायम राख्दै नागरिकसँग प्रत्यक्ष समन्वय र विश्वासको सम्बन्ध विस्तार गर्नु टोली परिचालनको मुख्य उद्देश्य रहेको उनले बताए।
सादा पोसाकमा परिचालित टोलीले सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, आवश्यक सूचना संकलन तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। वर्दीधारी सुरक्षाकर्मीभन्दा सादा पोसाकमा रहेका टोलीसँग नागरिकले सहज रूपमा सम्पर्क गर्न सक्ने भएकाले सुरक्षासम्बन्धी सूचना प्राप्त गर्न र विश्वासको वातावरण निर्माण गर्न यस अवधारणाले सहयोग पुग्ने विश्वास गरिएको छ।
बाहिनीपति सुवेदीले टोलीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई ‘निगरानी, समन्वय र नियन्त्रण’को नीतिअनुसार अनुशासित, नागरिकमैत्री र त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरीले सीमा प्रवेश विन्दुहरूमा यस्ता टोली परिचालन गर्दै सीमासुरक्षालाई थप प्रभावकारी बनाउने रणनीति अघि बढाएको जनाएको छ। गौरीफन्टा नाकासहित हाल देशका विभिन्न छ जिल्लामा ‘बोर्डर इन्टरयाक्सन टिम’ले कार्यारम्भ गरिसकेको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ३४ गण मुख्यालय कैलालीका गणपति खुमबहादुर केसी, कैलाली र कञ्चनपुरका सीमावर्ती सशस्त्र प्रहरी इकाइ प्रमुख, सीमावर्ती वडाका जनप्रतिनिधि तथा नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता रहेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal