• Menu

नेप्सेमा लगातार दोस्रो दिन हरियाली, ६ अर्ब २६ करोडको कारोबार

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १५:३३

नेप्सेमा लगातार दोस्रो दिन हरियाली, ६ अर्ब २६ करोडको कारोबार

काठमाडौं । सेयर बजारले लगातार दोस्रो दिन पनि हरियाली कायम गरेको छ । बिहीबार १४.१७ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार थप ७.९० अंकले उकालो लाग्दै २७३४.२६ अंकमा पुगेको हो ।

नेप्से ०.२८ प्रतिशतले बढ्दा बैंकिङ उपसमूह १.१७ प्रतिशतले उकालो लागेर सबैभन्दा बढी योगदान गर्ने क्षेत्र बन्यो । यो नेप्सेको जेठ २७ यताकै उच्च विन्दु पनि हो । कारोबार सुरु भएपछि बजारले तीव्र गति लिँदै दिउँसो ११ः४६ बजे २७४७ अंकसम्म पुगेको थियो ।

आज १४३ कम्पनीको सेयर मूल्य बढेको, ११८ कम्पनीको घटेको तथा १५ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्दै अघिल्लो दिनको ४ अर्ब ६७ करोड रुपैयाँबाट ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

उपसमूहतर्फ विकास बैंक ०.९६ प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत, जीवन बिमा ०.१३ प्रतिशत, लघुवित्त ०.३६ प्रतिशत तथा निर्जीवन बिमा ०.०२ प्रतिशतले बढेका छन् । यता व्यापार, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत र वित्त समूह भने सामान्य रूपमा ओरालो लागेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै सगरमाथा जलविद्युत, खानीखोला हाइड्रोपावर, झापा इनर्जी र दरामखोला हाइड्रो इनर्जीका लगानीकर्ताले पनि उल्लेखनीय लाभ कमाएका छन्।

यता कर्पोरेट डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (बालाजु), नाडेप लघुवित्त र सोलु हाइड्रोपावरको सेयर मूल्यमा गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत र रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा बढी कारोबार हुने कम्पनी बने ।