
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी प्रकरणमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी तथा सल्लाहकारविरुद्ध मुद्दा दायर गरिएको हो।
मुद्दा दायर हुनेमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।
आठ प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।
बाल मन्दिरमा भएको अनियमितताबारे उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद्ले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएर अदालतमा मुद्दा दायर गरेको हो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal