काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत चितवन र झापामा गरी ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका उनीहरूले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
यस्तै, झापाको कनकाई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा प्रदान गरिएको छ ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।