झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा-२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ । स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उनले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहकी छन् ।
निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन । चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म बिरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो । तर पूर्वउपसभामुखसमेत रहेकी रानामगर यतिबेला फरक अभ्यासमा देखिएकी छन् ।
गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तक्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्यालगायत दैनिक जीवनसँग जोडिएका विषय खुलस्त रूपमा राख्ने गरेका छन् । सांसद रानामगरले नागरिकका सुझाव, गुनासा र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनका अनुसार यस्ता प्रत्यक्ष संवादले स्थानीय आवश्यकता र विकास निर्माणका क्रममा देखिएका चुनौती पहिचान गर्न सहयोग पुग्नेछ ।
सुरुमा उनले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । भेटघाट तथा अन्तक्रियामा स्थानीयले दैनिक जीवनसँग जोडिएका विविध समस्या राखेका थिए ।
अनुगमनकै सिलसिलामा उनले बुद्धशान्ति भागिरथा अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनसँग सेवा प्रवाह, वर्तमान अवस्था र देखिएका समस्याबारे छलफल गरिन् । यस्तै, हेलोचोकदेखि दक्षिणको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनि (बिन्धुलीबाँध) क्षेत्रमा पुगेर पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गरिन् ।
भेटघाटका क्रममा स्थानीयले कृषि, पूर्वाधार र शान्ति सुरक्षाका विषयमा धेरै समस्या राखेको सांसद रानामगरले बताइन् । ‘बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, हात्तीको आतंक, पूर्वाधार विकास तथा समयमै मल-बीउ नपाएको गुनासो धेरै आएको छ,’ उनले भनिन्, ‘हामी ती समस्या र गुनासा समाधानका लागि निरन्तर क्रियाशील छौँ । कतिपय अवस्थामा नागरिकमा आक्रोश पनि देखिएको छ, जसलाई हामीले स्वाभाविक र सकारात्मक रूपमा लिएका छौँ ।’
जनप्रतिनिधिको भूमिका संसदमा नीति निर्माणमा मात्र सीमित नरही नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि भएको रानामगरको भनाइ छ । यस्ता प्रत्यक्ष भेटघाट र अन्तक्र्रियालाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताइन् ।
नागरिकका समस्या सुन्दै हिँडेकी सांसद रानामगर बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा सहभागी भइन् । जहाँ वर्षौँदेखि ओत लाग्ने जमिनको कानुनी अधिकार नपाएर उठिबासको त्रासमा रहेका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद रानामगरले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार अनिवार्य रहेको बताइन् । लाभग्राहीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्दै उनले खुसी व्यक्त गरिन् ।
‘आज यहाँ लालपुर्जा हस्तान्तरण गरिरहँदा तपाईँहरूको खुसी र उत्साहलाई नजिकबाट अनुभूति गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहनुभएका परिवारले लालपुर्जा प्राप्त गर्दा अनुहारमा देखिएको खुसी र सन्तोषले यस अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ ।’
नागरिकसँगको प्रत्यक्ष संवादमार्फत विकास निर्माणमा देखिएका सुस्तता र स्थानीय आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
झापामा देखिएको यो जनप्रतिनिधि-नागरिक संवादको लहर इन्दिरा रानामगरमा मात्र सीमित छैन । झापाका अन्य निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित जनप्रतिनिधिहरू गाउँ-बस्ती पुग्ने होडमा देखिन्छन् ।
झापा क्षेत्र नं १ की सांसद तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी एक सातादेखि क्षेत्रमै सक्रिय छन् भने क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा पनि स्थानीयका सुखदुःख बुझ्न गाउँमै छन् ।
झापाका पाँचवटै क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए । तीमध्ये झापा क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।
यसरी झापामा एक सातादेखि सञ्चालन गरिरहेको निरन्तर जनसंवाद अभियानले निर्वाचित प्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप नजिक बनाउने प्रयासका रूपमा लिइएको छ ।