
इलाम । कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट आधुनिक पर्यटकीय केन्द्रमा रूपान्तरण भएको अन्तुमा अहिले दैनिक औसतमा दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।
स्थानीय धनकुमार आलेका अनुसार विगतमा अन्तुडाँडामा अधिकांश मानिस धार्मिक उद्देश्यले आउँथे । उनीहरू कलशमा चोखो पानी बोकेर उदाउँदो सूर्यलाई अर्घ चढाउँथे र भाकल पूरा भएको विश्वास गर्दै फर्कन्थे । अहिले भने पर्यटक सूर्योदयको दृश्य हेर्ने, तस्बिर तथा भिडियो खिच्ने, अन्तुपोखरीमा घुम्ने र साङ्गीतिक मनोरञ्जनमा रमाउने उद्देश्यले आउने गरेका छन् ।
अन्तुमा पर्यटक आउन थालेको २०४० सालको दशकबाट हो। तत्कालीन सांसद सरस्वती राई, भगवती दास (श्रेष्ठ) र सोमनाथ बाँस्तोला लगायतले संसदमा अन्तुको पर्यटन विकासको विषय उठाएपछि तत्कालीन जिल्ला पञ्चायतले गेस्टहाउस निर्माणका लागि बजेट विनियोजन गरेको थियो । विद्युत् नपुगेको त्यसबेला लालटिनको उज्यालोमा पर्यटकलाई बास र खानाको व्यवस्था गरिन्थ्यो ।
स्थानीय धनकुमार आलेले २०५२ सालमा साधुसन्तलाई लक्षित गरी ‘पेइङ गेस्ट’ सञ्चालन सुरु गरेका थिए । सुरुमा २० मा खाना र बासको व्यवस्था गरिएको थियो । २०५७ सालमा इलामबाट आएको पर्यटन प्रवर्धन टोलीले स्थानीयलाई घरबास (होमस्टे) सञ्चालनमा प्रोत्साहित गरेपछि अन्तुमा व्यवस्थित ग्रामीण पर्यटनको विस्तार हुन थालेको उनको अनुभव छ ।
पत्रकार तथा लेखक मोहन मैनालीले तीन दशकअघि देखेको अन्तु र अहिलेको अन्तुबीच ठूलो परिवर्तन आएको बताए । उनका अनुसार पहिले गोरेटो बाटो, चियाबारी र सीमित घरमात्र रहेको गाउँ अहिले होटल, कटेज, सडक र पर्यटकीय पूर्वाधारले भरिएको सहरजस्तो बनेको छ । उनले स्थानीय अर्थतन्त्र पनि उल्लेख्य रूपमा चलायमान भएको बताए ।
अन्तुको अर्को प्रमुख आकर्षण ‘अन्तुपोखरी’ हो । अहिले डुंगा सयर र ‘फिसिङ’का लागि चर्चित यो पोखरी चार दशकअघि भैँसी चरन क्षेत्रका रूपमा प्रयोग हुन्थ्यो । स्थानीय खगराज घिमिरेका अनुसार त्यतिबेला वरपर जंगल, सडक वा बस्ती थिएन र दिउँसै सुनसान हुने क्षेत्र अहिले रातभर उज्यालो रहने पर्यटकीय केन्द्रमा परिणत भएको छ ।
पोखरी संरक्षणको अभियान २०४० सालतिर सुरु भएको थियो । स्थानीयको सक्रियता र जिल्ला पञ्चायतको सहयोगमा पोखरी संरक्षण, पर्खाल निर्माण र पानी व्यवस्थापन गरियो । २०५९ सालमा अन्तु पर्यटन विकास केन्द्र दर्ता भएपछि सरकारी बजेटबाट थप पूर्वाधार निर्माण भयो । त्यसपछि भारतको मिरिकबाट डुंगा ल्याएर बोटिङ सेवा सुरु गरिएको थियो । पछि कोलकाताबाट आफ्नै डुंगा खरिद गरियो ।
२०६२/६३ साल तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुंगा सञ्चालनको औपचारिक शुभारम्भ गरेको थियो । अहिले डुंगा सेवा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
संघीयता कार्यान्वयनपछि सूर्योदय नगरपालिकाले अन्तुमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । पूर्वनगरप्रमुख रणबहादुर राईका अनुसार अन्तुपोखरी, अन्तुडाँडा, सडक, पदमार्ग, प्रकाश व्यवस्था, सौन्दर्यीकरण र अन्य पूर्वाधार निर्माणमा करिब रु पाँच करोड खर्च गरिएको छ । यसअघि हिलाम्मे रहेका पदमार्ग, अव्यवस्थित भ्यूटावर र अपुग सडक पहुँचलाई व्यवस्थित बनाइएपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको उनले बताए ।
हाल संघीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले अन्तु क्षेत्रमा सौन्दर्यीकरण, सडक ढलान, फुटट्रेल, घेराबारा तथा सडक विस्तारको काम गरिरहेको सब-इन्जिनियर प्रकाश चापागाईंले जानकारी दिए ।
अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेका अनुसार अहिले दैनिक करिब ८०० देखि दुई हजारसम्म पर्यटक अन्तु पुग्ने गरेका छन् । संघमा आबद्ध होटल, कटेज र होमस्टे गरी ११० वटा तथा सामुदायिक होमस्टे ५० वटा छन्, जसमध्ये ३५ वटा नियमित सञ्चालनमा छन् । पर्यटन व्यवसायबाट करिब ३१० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
हाल अन्तुपोखरीमा चार वटा डुंगा सञ्चालनमा छन् । एउटा डुंगामा चार जना बस्न मिल्छ भने पोखरीको एक फन्को लगाउन प्रतिव्यक्ति ५० शुल्क लाग्छ । नगरपालिकाले यसबाट नियमित राजस्व संकलन गर्दै आएको छ ।
अन्तुडाँडा सूर्योदय र सूर्यास्त अवलोकनका लागि विशेष परिचित छ । भदौ अन्तिमदेखि सुरु हुने झुल्केघामको मौसम पुस-माघ हुँदै वैशाखसम्म रहने गर्दछ । मौसम खुलेका दिन यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खला, कन्याम, झापा, दार्जिलिङ, मिरिक र सिलिगुडीको मनोरम दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
तराईका गर्मी क्षेत्र तथा भारतको पश्चिम बंगालबाट बर्सेनि ठूलो संख्यामा पर्यटक अन्तु पुग्ने गरेका छन् । अध्ययन भ्रमणमा आउने विद्यार्थी समूहसमेत यहाँ नियमित आउने गरेका छन् ।
कार्यवाहक सूर्योदय नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार नगरपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाइरहेको छ । अन्तु र कन्यामका साथै नगरपालिकाभित्रका अन्य प्राकृतिक, कृषि, धार्मिक, सांस्कृतिक तथा जैविक विविधतायुक्त क्षेत्रलाई पनि क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal