काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीका बाधा-अवरोध हटाउँदै स्वदेशी उत्पादनलाई पर्यटकीय स्थलसहित विभिन्न बजारमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताए।
छलफलमा महासंघका प्रतिनिधिले व्यवसायमैत्री वातावरण, महिला उद्यमीका वस्तु तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, व्यवसायिक भेटघाट तथा निर्यात प्रवर्धनमा सहभागिता सुनिश्चित गर्न माग गरेका थिए । महासंघले अघि सारेको ‘म उद्यमी’ ब्रान्डलाई बजारमा स्थापित गर्न पनि सरकारको सहयोग माग गरिएको थियो, जसमा प्रधानमन्त्री शाहले सकारात्मक प्रतिबद्धता जनाए।
महासंघले वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारी सहकार्य, सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता, वित्तीय सहुलियतको पहुँच विस्तार तथा धितोको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको थियो। साथै, नीति निर्माण र सरकारी संयन्त्रमा महासंघको सहभागिता सुनिश्चित गर्न तथा स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनमा सहकार्य गर्न पनि माग गरिएको थियो ।
प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने महासंघका प्रतिनिधिले आफ्ना मागप्रति सकारात्मक पहल थालेको भन्दै प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।