• Menu

एआई सामग्रीबारे चेतना जगाउन टिकटकले ल्यायो नयाँ अभियान, ३ अर्ब बढी भिडियोमा एआई लेबल

नेपाल प्रफिट

२०८३ असार ३२, ११:४१

एआई सामग्रीबारे चेतना जगाउन टिकटकले ल्यायो नयाँ अभियान, ३ अर्ब बढी भिडियोमा एआई लेबल

काठमाडौँ । छोटो भिडियो साझेदारी मञ्च टिकटकले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत तयार गरिएका सामग्रीबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न शैक्षिक सामग्री, उन्नत स्पाम पहिचान प्रणाली तथा विभिन्न संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाएको जनाएको छ ।

टिकटकका अनुसार प्रयोगकर्ताले एआईद्वारा तयार गरिएका सामग्री सजिलै चिनून्, जिम्मेवारीपूर्वक एआई प्रयोग गर्न सकून् र मौलिक सामग्रीप्रति विश्वास कायम रहोस् भन्ने उद्देश्यले नयाँ पहल सुरु गरिएको हो। यसका लागि कम्पनीले एआईसम्बन्धी व्यावहारिक मार्गदर्शन तयार गर्नुका साथै नेपालमा एपभित्रै एआई साक्षरता केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।

कम्पनीले एआईमार्फत सिर्जना गरिएका स्पाम सामग्री नियन्त्रण गर्न थप उन्नत प्रणाली परीक्षण गर्ने जनाएको छ। विशेषगरी राजनीति, स्वास्थ्य र वित्तीय जानकारीजस्ता संवेदनशील विषयमा भ्रामक सामग्री फैलिन नदिन नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ। यस वर्षको पहिलो तीन महिनामा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली खाता हटाइएको कम्पनीको दाबी छ ।

टिकटकले एआईबाट सिर्जना वा परिमार्जन गरिएका सामग्रीमा स्पष्ट चिन्ह लगाउने व्यवस्था पनि विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म ३ अर्बभन्दा बढी भिडियोमा एआईसम्बन्धी सूचक लेबल राखिएको छ, जसले प्रयोगकर्तालाई यस्ता सामग्री सजिलै पहिचान गर्न सहयोग पुर्‍याउनेछ ।

कम्पनीले एआईलाई सिर्जनशीलता, सुरक्षित डिजिटल अनुभव र जिम्मेवार सामग्री निर्माणका लागि उपयोगी बनाउन शिक्षा, पारदर्शिता र नवीन प्रविधिमा लगानीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।